बुद्ध जयन्तीमा घरमै दीप प्रज्वलन

समाचार

काठमाडौँ — आज वैशाख पूर्णिमा, शाक्यमुनि बुद्धको जन्म भएको दिन । ईशापूर्व ५६३ मा सिद्धार्थ गौतमको जन्म लुम्बिनीमा भएको थियो । त्यस आधारमा यसपल्ट २५६४ औं बुद्ध जयन्ती परेको छ ।

सार्वजनिक रूपमा नेपालमा बुद्ध जयन्ती मनाउन सुरु भएको सात दशकपछि पहिलोपल्ट यो अवसरलाई यसपालि फरक ढंगले मनाइनेछ । कोरोना भाइरस संक्रमणको महामारीका कारण चलिरहेको देशव्यापी लकडाउनका कारण यसपल्ट कुनै सार्वजनिक कार्यक्रम हुने छैन ।

बरु घरमै बसेर बुद्ध पूजा हुनेछ, अनि परित्राण र दीप प्रज्वलन गरिनेछ । बुद्ध जयन्ती समारोह समितिले पनि भनेको छ, ‘यो अवसरमा घरमै रहौं र बुद्ध जयन्ती मनाऔं ।’ नेपाल सरकारले पनि बुद्ध जयन्तीको अवसरमा घर–घरमा दीपावली गर्न आह्वान गरेको छ । लकडाउनका कारण कुनै सार्वजनिक कार्यक्रम गर्न नमिल्ने हुनाले कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीपावली गर्न अनुरोध गरिएको छ ।

नेपालमा २००७ सालमा पहिलोपल्ट धर्मोदय सभाको सक्रियतामा बुद्ध जयन्ती मनाउन सुरु भएको हो । धर्मोदय सभाको स्थापना भारतको सारनाथमा २००१ मा भएको थियो । भिक्षु अमृतानन्दको पहलमा पद्मशमशेरको पालामा सबैभन्दा पहिले बुद्ध जयन्ती मनाइएको थियो । ‘सार्वजनिक रूपमा बुद्ध जयन्ती मनाएको ७० वर्षपछि हामी पहिलोपल्ट फरक ढंगले मनाइरहेका छौं, सबै आ–आफ्नो घरमै रहेर,’ धर्मोदय सभाका महासचिव सागरमान वज्राचार्य भन्छन् । २००७ सालअघि पनि नेपालमा व्यक्तिगत रूपमा बुद्ध जयन्ती मनाउने क्रम भने थियो । काठमाडौं उपत्यकाका सबैभन्दा पहिले मासंगल्लीमा बुद्ध जयन्ती मनाइएको मानिन्छ । त्यस अगाडि भोजपुरमा पहिलोपल्ट बुद्ध जयन्ती मनाइएको थियो ।

भिक्षु कौडण्यले पनि परम्परागत रूपमा यसपल्ट बुद्ध जयन्ती नमनाउन अनुरोध गरेका छन् । अखिल नेपाल भिक्षु संघका महासचिवसमेत रहेका उनले भनेका छन्, ‘यो समय भनेको मन बलियो बनाउने र निरोगी रहने हो । बुद्धले भन्नु भए जस्तै हाम्रो रोगव्याधिको शरीर हो ।

आजको दिन हामी सबै निरोगी रहौं भनेर कामना गर्न सकिन्छ । हामीले आजकै दिनबाट बुद्ध शिक्षाको अध्ययन सुरु गर्न सकिन्छ । ध्यान बस्न सकिन्छ । सामाजिक दूरी कायम राखेर सुख शान्ति कायम गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *