एक महिनामा ५० हजार पीसीआर परीक्षण गरिने

समाचार

काठमाडौँ — सरकारले एक महिनाभित्र देशभर ५० हजार पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण गर्ने भएको छ । उदयपुरमा कोभिड–१९ को संक्रमण समुदायमा सरेपछि त्यहाँसहित देशभरको वास्तविक स्थिति पत्ता लगाउन परीक्षणलाई व्यापकता दिन लागिएको हो ।

उक्त क्षेत्रमा संक्रमण कुन हदसम्म फैलिएको भन्नेबारे हाल एक संयन्त्र प्रयोग गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए ।

‘उदयपुरमा देखिएको संक्रमण कहाँसम्म फैलिएको छ भन्नेबारे विस्तृत रूपमा खोज्न एउटा विशेष टोली खटिएको छ,’ उनले भने । उनले अहिले देखिएको संक्रमणको अवधि पत्ता लगाउनु आवश्यक रहेकोमा जोड दिए । विज्ञहरुले जति धेरै पीसीआर परीक्षण भयो, उति संक्रमणको अवस्थाबारे थाहा हुने बताउँदै आएका छन् ।

१९ दिनअघि मुलुक संक्रमणको दोस्रो चरणमा गएको थियो । दुबईबाट फर्किएका कैलालीका एक युवकमा कोरोना संक्रमण देखिएको थियो । भ्रमण इतिहास नरहेको निजकी ३४ वर्षीय भाउजूमा समेत पीसीआर ‘पोजिटिभ’ देखिएपछि नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा गएको सरकारले जनाएको थियो । मंगलबार उदयपुरमा थप ११ जनामा संक्रमण देखियो । सोपश्चात् केही विज्ञले संक्रमण समुदायस्तरमा पुगेको भन्दै यसलाई तेस्रो चरणसमेत भनेका छन् । यद्यपि संक्रमण दोस्रो वा तेस्रो चरणमा हो भन्नेबारे विज्ञहरुमा एकमत देखिएको छैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका संक्रमित २४ जनाको कन्ट्याक्ट ट्रेसिङको प्रतिवेदन आएपछि सरकारले संक्रमणको विस्तारबारे थप स्पष्ट पार्नेछ । ‘सरकारले कन्ट्याक्ट ट्रेसिङ बढाएर मुलुकमा संक्रमणको चरण पहिचान गर्नुपर्छ,’ वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्त भन्छन्, ‘हामी अहिले दोस्रो चरणमा छौं वा तेस्रो चरणतिर जान लागेका छौं, यसको स्पष्ट पहिचान आवश्यक छ ।’ हाल मुलुकमा देखिएको कोभिड–१९ संक्रमणको गति सबैभन्दा महत्त्वपूर्ण हुने औंल्याउँदै डा. वन्त भन्छन्, ‘अहिले संक्रमण कुन गतिले बढिरहेको यो जान्नु अत्यन्त आवश्यक छ, किनभने कोभिड–१९ ले पार्ने प्रभाव संक्रमणको दरमा भर पर्छ ।’

विशेषज्ञहरुले संक्रमण देखिएकाहरुको सावधानीपूर्वक कन्ट्याक्ट ट्रेसिङ गर्नुको साथै क्वारेन्टाइन, होम क्वारेन्टाइन, आइसोलेसन (लक्षण देखिएकाहरुलाई) मा राख्दै परीक्षण र उपचारसमेत बढाउनुपर्नेमा जोड दिइरहेका छन् । उदयपुरमा अझै कोभिड–१९ संक्रमित पाउने सम्भावना रहेकोले परीक्षण बढाएर त्यहाँ एक–डेढ महिनाका लागि पूर्ण लकडाउन गर्नुपर्ने देखिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ बताउँछन् । उनका अनुसार इन्डोनेसिया तेस्रो चरणमा गएको छ भने साढे ६ सय जनाको मृत्यु र साढे १५ हजारभन्दा बढीमा संक्रमण देखिएको भारत अझै दोस्रो चरणमा रहेको मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *