आज काठमाडौंमा हुने प्रदर्शनलाई ध्यान दिँदै उच्च सुरक्षा सतर्कता

मुख्य खवर राजनीति विशेष समाचार

अवैधानिक तथा प्रतिबन्धित वस्तु काठमाण्डौ उपत्यका छिर्न नदिन एवं शङ्कास्पद व्यक्तिलाई रोक्ने उद्देश्यका साथ जाँच भइरहेको प्रहरीले जनाएको छ । निजी तथा सार्वजनिक तथा मालवाहक गाडीका साथै मोटरसाइकलमाथि पनि विशेष निगरानी भइरहेको छ । सहरका मुख्य चोकहरुमा पनि सुरक्षा जाँच भइरहेको छ ।

बल्खु र तीनकुनेमा हुन लागेको छुट्टाछुट्टै प्रदर्शनको सुरक्षाको बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन् । प्रदर्शनको सुरक्षाको पहिलो तहमा नेपाल प्रहरी खटिनेछ । सशस्त्र प्रहरी दोस्रो लहरमा हुनेछ ।

सूचना सङ्कलनका लागि राष्ट्रिय अनुसन्धान विभागसँगै दुवै प्रहरी सङ्गठनबाट सादा पोसाकका प्रहरी समेत परिचालित भइसकेका छन् । दुई पक्षको जुलुसलाई जम्काभेट र घुसपैठ हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उज्यालोलाई जानकारी दिनुभयो ।

प्रदर्शनलाई शान्तिपूर्ण बनाउन दुवै पक्षलाई आग्रह गरिएको र उच्छृङ्खल गतिविधि गरेमा कानुनअनुसार कारबाही हुने उहाँले बताउनुभयो । आजको प्रदर्शनका कारण हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै शान्ति सुरक्षाको सबै व्यवस्था मिलाइएको पनि उहाँको भनाइ छ । दुवै पक्षले एक लाख जनाभन्दा धेरै प्रदर्शनकारी ल्याउने घोषणा गरे पनि प्रहरीले बढीमा १५ हजार जना प्रदर्शनकारी आउन सक्ने आकलन गरेको छ ।

यस्तै, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज अत्यावश्यक काममा मात्र गाडी लिएर निस्कन अनुरोध गरेको छ । विभिन्न समूहको भेला तथा जुलुस हुने पूर्व निर्धारित कार्यक्रमका कारण ठाउँठाउँमा मानिस र गाडीको चाप बढेर ट्राफिक व्यवस्थापनमा समस्या हुन सक्ने भन्दै ट्राफिक प्रहरीले अत्यावश्यक काम बाहेक गाडी ननिकाल्न अनुरोध गरेको हो । सडकको अवस्था बझेर यात्रा गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

यसैबीच राष्ट्रिय मानवअधिकार आयोगले आज हुने भनिएको प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुका साथै शान्ति सुरक्षाको व्यवस्था पनि प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *