सत्तारुढ गठबन्धन र एमालेबीच राष्ट्रियसभामा सहकार्य हुने सम्भावना कम

मुख्य खवर राजनीति विशेष समाचार

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गर्न एमालेको सहयोगको सुनिश्चितता खोजेको गठबन्धनले एमालेबाट ठोस प्रस्ताव नआएको भन्दै आपसमै सिट बाँडफाँट गर्न लागेका हुन् । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक तत्काल पास गर्नुपर्ने प्रस्तावमा एमाले नेतृत्व तयार नभएको गठबन्धन दलका नेताहरुले बताएका छन् ।

एमालेको हिजो बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले टीआरसी विधेयकमा लेनदेन नगर्ने बताउनुभएको थियो । मानवअधिकारको गम्भीर उल्लङ्घनका घटनामा आममाफी नहुने, सर्वोच्च अदालतको आदेशअनुसार विधेयक संशोधन गर्नुपर्ने र पीडितको सहमतिविना माफी नहुने एमालेको अडान छ ।

पर्सि २३ गते राष्ट्रियसभा चुनावको लागि उम्मेदवार मनोनयन दर्ताको समय भएकाले यसबारे आज र भोलिसम्म सहमति भैसक्नुपर्छ । तर एमालेले हिजो १९ वटै सिटमा उम्मेदवार दिने निर्णय गरेपछि गठबन्धन दलहरुले सिट बाँडफाँट टुङ्गो लगाउन लागेका हुन् । गठबन्धनभित्र कुन दललाई कति सिट छुट्याउने भन्नेबारे सहमति भैसकेको छैन ।

उम्मेदवारको विषयमा पनि दलहरुभित्रको विवाद कायमै छ । नेपाली कांग्रेसले राष्ट्रिय सभाका उम्मेदवारको विषय टुङ्गो लगाउन आज कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *