काठमाडौं – सरकारका पूर्वसचिव भिम उपाध्यायले कर्मचारीले पाउने पेन्सन कसैको दया मायाबाट नभई तीन दशकको समय,बुद्धि र श्रम बेचेर कमाएको बिशुद्ध ज्याला भएको बताएका छन । विभिन्न व्यक्ति राजनैतिक दल सम्बद्ध नेता तथा कार्यकताहरुले पूर्व कर्मचारीहरुले सरकारको कामको टिकाटिप्पणी गर्नुलाई सरकारले दिएको सुविधा लिएर सरकारकै कामको विरोध गर्न नमिल्ने टिप्पणि गर्ने गरेका छन ।पूर्वसचिव उपाध्यायले यसबारे सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका हुन ।
उनले आफु कसैको खटनमा बस्ने सरकार मातहतको बहालवाला मूख्यसचिव वा सचिव जस्तो नभई पूर्वसचिव कर्मचारी र स्वतन्त्र नागरिक भएको भन्दै सरकारको निरन्तर खवरदारी गरिरहने बताएका हुन । साथै उनले पेन्सनलाई कर्मचारीले समय, बुद्धि र श्रम बेचेर कमाएको बिशुद्ध ज्याला भएको र जसको पेमेन्ट मोडालिटी जिवनभरी महिनावारी पेन्सन पाउने गरी जागिर सुरू गर्दा सरकारसंग करार सम्झौता गरेबमोजिम लिने गरेको रकमको रुपमा बुझ्न आग्रह गरेका छन ।
‘श्रम बापतको तलब एक अर्काको विनियम भएको र कर्मचारीहरूले यसरी नै करार गरेका हुन्छन्। कर्मचारीले जनताको केही पनि फोकटमा खाएका हुदैनन्, बरू जनताले कर्मचारीको श्रम र सेवा खाएका हुन्।’ उनले लेखेका छन । यस्तो छ उनको विचार :
म सरकार मातहतको प्रम, मन्त्रीका आज्ञापालक वा तिनका खटनपटनमा रहने बहालवाला मूख्यसचिव वा सचिव जस्तो हैन। म पूर्वसचिव कर्मचारी हो, स्वतन्त्र नागरिक हो। कसैको खटनमा बस्ने हैन।
मैले पाउने पेन्सन कसैको दया मायाबाट पाएको दानदातब्य हैन, कसैको कर वा राजश्व फोकटमा खाएको हैन।त्यो मेरो ३ दशकको समय, बुद्धि र श्रम बेचेर कमाएको बिशुद्ध ज्याला हो, जसको पेमेन्ट मोडालिटी जिवनभरी महिनावारी पेन्सन पाउने गरी जागिर सुरू गर्दा सरकारसंग करार सम्झौता गरेबमोजिम लिने गरेको रकम मात्र हो।
श्रम बापतको तलब एक अर्काको विनियम मात्र हो। सबै कर्मचारीहरूले यसरी नै करार गरेका हुन्छन्। कर्मचारीले जनताको केही पनि फोकटमा खाएका हुदैनन्, बरू जनताले कर्मचारीको श्रम र सेवा खाएका हुन्।
ज्याला दिने तर पूरा काम लिन नसक्नु काम लगाउनेको अयोग्यता हो, त्यस्ता काम लगाउनेहरू नै खासमा काम नलाग्ने हुन्।नेताहरूको पारिश्रमिक, सेवासुविधा, औषधोपचार खर्च, बृद्धभत्ता, गाडी, तेल, अर्दली, सुरक्षाकर्मी वा सुखसुविधा सेवाका खर्च लिनेहरूले भने जनताको करको दानदातब्य खाएको हो। म पूर्वकर्मचारीले राज्यबाट कुनै सेवासुविधा पाएको लिएको वा लिन पाउने पनि केही छैन। पेन्सन मेरो संचित पारिश्रमिक मात्र हो जो मैले आर्जन गरेकै दिन देखि संचिति धन हो। त्यसैले मसंग अरूसंग जस्तो ब्यवहार गर्न खोज्नु पटमूर्ख सोचका गवॉरहरूको मूर्खमति हो।

