शुक्लाफाँटाका वडाध्यक्षलाई कुटपिट गर्ने समूहका ६ जना पक्राउ

समाचार

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि कार्यकक्षमै कुटपिट गर्ने समूहका छ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार पक्राउ पर्नेमा नारद ठगुन्ना, विनोद ठगुन्ना, वसन्त ठगुन्ना, मानसिंह ठगुन्ना, नवीन ठगुन्ना र आनन्द ठगुन्ना रहेका छन्।

वडाध्यक्षको किटानी जाहेरीका आधारमा छ जनालाई सोधपुछका लागि पक्राउ गरिएको उनको भनाइ छ। वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण र राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलनको कार्य भइरहेका बेला नेपाली काँग्रेस सम्बद्ध तरुण दलका वडा सभापतिको नेतृत्वमा गएको समूहले वडाध्यक्षमाथि कुटपिट गर्नाका साथै कार्यकक्षमा तोडफोड समेत गरेको थियो।

पक्राउ परेकाहरुको रिहाइको माग गर्दै नेपाली काँग्रेसका कार्यकर्ताले इलाका प्रहरी कार्यालय झलारी घेराउ गर्नाका साथै झलारी बजारमा टायर बालेका छन्। वडाध्यक्ष महरालाई उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकलतर्फ लगिएको छ। नेकपा शुक्लाफाँटा नगरकमिटी र शुक्लाफाँटा नगर कार्यपालिकाले छुट्टाछुट्टै रुपमा विज्ञप्ति जारी गरी दोषीमाथि अविलम्ब कारवाही गर्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *