कञ्चनपुर– नेपाली काङ्ग्रेस कञ्चनपुरद्वारा सरकारविरुद्ध विरोधका कार्यक्रम गरिने भएको छ । कञ्चनपुर क्षेत्र नम्बर १ का किसानहरुले भोग्नुपरेको मलखादको समस्या र बेलौरी कलुवापुर बैशाखा सडक निर्माणका सम्बन्धमा आइतबार सरकारविरुद्ध नेपाली काङ्ग्रेस कञ्चनपुरले विरोधका कार्यक्रम गर्ने भएको हो ।
काङ्ग्रेसले किसानको मलखादको समस्यालाई मध्यनजर गर्दै सरकारलाई दवाव मुलक कार्यक्रम गर्न लागिएको कञ्चनपुर क्षेत्र नम्बर १ का पुर्व माननीय सांसद एवम् संविधानसभा सदस्य दिवान सिंह बिष्टले बताए ।
यस्तै, २१ गते आइतबार विहान १० बजे खुला मञ्चमा भेलाभई बजार परिक्रमा सहित कोण सभामा परिणत हुने नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि हरेन्द्र सिह बिष्टले बताएका छन् । किसानलाई मलखाद आवश्यक परिरहँदा सरकारले परि पुर्ति गर्न नसक्नु र किसानहरुका समस्यालाई बेवास्ता गरेकोप्रति कञ्चनपुरका किसानहरुले चिन्ता व्यक्त गरेका छन् । सरकारले उक्त समस्याको समाधान नगरे कडा संघर्षका कार्यक्रम गरिने समेत नेपाली काङ्ग्रेस कञ्चनपुर जिल्ला सदस्य प्रकाश राज पन्तले जानकारी दिए ।
यहाँका किसानहरुले बेलाबेलामा मलखाद लगायतका कृषि सम्बन्धी समस्याहरुको उठान गर्दै आएका छन् भने यस विषयमा स्थानीय सरकारले आश्वासन बाहेक कुनै ठोस कदम चाल्न सकिहालेको देखिँदैन ।
त्यसैगरी, नेपाली काङ्ग्रेस कञ्चनपुरले बेलौरी कलुवापुर बैशाखा सडकखण्डको निर्माण कार्यमा स्थानीय सरकारले ढिलाई तथा लापर्वाही गरेको भन्दै आपत्ति जनाएको छ । बर्खा सुरु भइसक्दा समेत सडक निर्माणमा ध्यान नदिइएको र यहाँका स्थानीयले आवतजावतमा सास्ति खेप्नुपर्ने अवस्थाको अन्त्य गर्न अझैँ पनि सरकारले कुनै चाँसो नदेखाएको काङ्ग्रेसको आरोप छ ।
यता, बेलौरी नगरपालिकाले ठेकेदारको लापर्वाहीका कारण उक्त सडकखण्ड निर्माण कार्य समयमै सम्पन्न गर्न नसकिएको र छिट्टै यसको समाधान निकालिने बताउँदै आएको छ । सडक निर्माणको ठेक्का पाएको सन्तोषी थेगिम जेभि कम्पनीले २०७३ भाद्र १७ गते ठेक्का सम्झौता गरी २०७५ जेष्ठ १६ गतेभित्र निर्माणकार्य सम्पन्न गरिसक्ने सहमति गरेको भएपनि हालसम्म सडकको अवस्था फेरिन सकेको छैन ।
यसअघि, बेलौरी कलुवापुर सडक संघर्ष समितिले पनि वर्षौँदेखि अलपत्र अवस्थामा रहेको उक्त सडकखण्डलाई कालोपत्रे गर्ने सम्बन्धमा ठोस कदम चालिनुपर्ने माग राख्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीलाई ज्ञापन पत्र बुझाएको थियो ।
यसैबीच, शनिबार पुर्व सांसद एवम् संविधानसभा सदस्य बिष्टले डोके बजार देखि दैजी सम्म हुलाकी सडकका साथै बेलौरी बजारको लक्ष्मी स्वीट देखि महाकाली मा वि सम्मको आरसिसि सडक पुर्वाधार निर्माण कार्यको अवलोकन गरेका छन् ।

