चार सय ५२ जना राष्ट्रपतिबाट विभूषित

समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रबाट देशलाई योगदान पुर्‍याएका चार सय ५२ जनालाई विभूषित गर्नुभएको छ । मन्त्रिपरिषद्को गएको असोज १ गतेको निर्णयअनुसार चार सय ५२ जनालाई सम्मान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गएको असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भए पनि कोरोना भाइरसको जोखिमका कारण कार्यक्रम स्थगित भएको थियो । उनीहरूलाई नयाँ वर्षको अवसरमा विभूषित गरिएको हो ।

मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा एक, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा तीन, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा सात, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा आठ, प्रबल जनसेवा श्री चतुर्थ श्रेणीमा दुई सय ४२, जनसेवाश्री पञ्चम श्रेणीमा एक सय चार रहेका छन् ।

यस्तै अलङ्कारतर्फ एक सय १४, पदकतर्फ २७ गरी जम्मा पाँच सय ९३ जनालाई विभूषण प्रदान गर्ने निर्णय सरकारले गरेको थियो । तीमध्ये मान पदवी प्राप्त चार सय ५२ जनालाई नयाँ वर्षको दिन पारेर विभूषित गरिएको गृह मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *