डडेल्धुरा: गन्यापधुरा गाउँपालिकामा ५८ संक्रमित भेटिएपछि सिल

समाचार

डडेल्धुरा – डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढेपछि सिल गरिएको छ। बिहीबारदेखि असार १२ गतेसम्म गाउँपालिका सिल गरिएको हो। बिहीबार एकैदिन गन्यापधुरा गाउँपालिकामा मात्रै ५८ जनामा कोरोनाको संक्रमण फेला परेपछि गाउँपालिका सिल गरिएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए।

गाउँपालिकामा बिहीबार मात्रै ५८ जना कोरोना पोजिटिभको रिपोर्ट आएको थियो। योसँग गन्यापधुरामा कोरोना संक्रमितको संख्या ६३ पुगेको छ। यसअघि पाँचजना कोरोना संक्रमण पुष्टि भएको थियो। ती पाँचजना १४ दिन अस्पतालको बसाइपछि घर फर्किसकेका छन्।

उनीहरूमा कुनै पनि कोरोनाको लक्षण नदेखिएपछि घर पठाइएको हो। जिल्लामा अहिलेसम्म कोरोना पोजेटिभ आएकामध्ये आधा गन्यापधुरा गाउँपालिकाकै रहेका कारण सतर्कता अपनाउन गाउँपालिका सिल गरिएको अध्यक्ष मल्लले बताए। सिल गरिएको अवधिमा स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण कार्यालयहरू, बैंक र पसलसमेत असार १२ गतेसम्म बन्द रहने र आवश्यक काम बाहेकको अवस्थामा घरबाहिर कसैलाई ननिस्कन पनि गाउँपालिकाकावासीलाई गाउँपालिकाले आग्रह गरेको छ। साथै गाउँपालिकाले सवारीसाधन पनि नचलाउन भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *