डेङ्गीको सङ्क्रमण रोक्न प्रभावकारी काम हुन सकेन : सङ्क्रमण दिनहुँ बढ्दो क्रममा

Uncategorized

सङ्क्रमण देखिएकामध्ये सबैभन्दा धेरै सुनसरीमा ११ हजार छ सय ५९ जना छन् । तर तथ्याङ्कमा भन्दा अझ धेरै प्रभावित भएका हुन सक्ने अनुमान छ । सुनसरीपछि मोरङमा दुई हजार दुई सय ४२, धादिङमा दुई हजार एक सय एक, झापामा एक हजार तीन सय २३, काठमाण्डौमा चार सय २७, धनकुटामा तीन सय ३६, सङ्खुवासभामा दुई सय ७२, कास्कीमा दुई सय ६०, दार्चुलामा एक सय ९४, ललितपुरमा एक सय ७४ जना डेङ्गी बिरामी भेटिएका छन् ।

महाशाखाले यसअघि नै भदौ र असोजमा डेङ्गीको सङ्क्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । तर रोकथामको प्रयास प्रभावकारी नहुँदा सङ्क्रमण थप फैलिने जोखिम बढेको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले पानी पर्ने र घाम लाग्ने हुँदा डेङ्गीको सङ्क्रमण दैनिकरूपमा बढेको बताउनुभयो ।

गएको असारदेखि नै सङ्क्रमण बढ्न थालेको थियो । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी रोग लाग्छ ।

सरकारले कार्ययोजना नै बनाएर त्यसैअनुसार डेङ्गी रोकथाम र नियन्त्रणका लागि सङ्घ, प्रदेश र पालिकाका साथै अस्पताललाई निर्देशन दिए पनि मुख्य गरी लार्भा खोज र नष्ट गर अभियान प्रभावकारी हुन नसकेको हो ।

डेङ्गी रोगको रोकथाम र उपचारका लागि घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएको महाशाखाले जनाएको छ । कार्ययोजनामा डेङ्गी सचेतनाका लागि विद्यालय शिक्षा र घरदैलो कार्यक्रम गर्ने उल्लेख छ । यसैगरी जोखिम नक्साङ्कन तथा हट–स्पट पहिचान गर्ने, डेङ्गी सेरोटाइपको पहिचान, लामखुट्टेमा डेङ्गी भाइरसको आइसोलेसन गर्ने, अस्पतालमा डेङ्गी रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्ने, डेङ्गी रोगको निदानका लागि आवश्यक किटको व्यवस्था गर्ने समेत उल्लेख छ ।

नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गी देखिएको थियो । अघिल्लो वर्ष सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण हुँदा ८८ जनाको ज्यान गएको थियो । स्वास्थ्य मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गर्दै आएको छ ।

यस्तै, सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन पनि आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *