बेलाैरी/कञ्चनपुर – जिल्लाकाे पुरानाे सदरमुकाम बेलाैरीमा भाेलि देखि तेस्रो बेलाैरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ । बेलौरी उद्योग वाणिज्य संघको आयोजनामा भाेलि पुस ८ गतेबाट बेलाैरीकाे खुला मञ्चमा तेस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि, औद्योगिक व्यापार मेला ०८१ सञ्चालन हुने भएको हो ।
वाणिज्य संघको आयोजना र बेलौरी नगरपालिकाको सह-आयोजनामा कृषि औद्योगिक व्यापार मेला संचालन हुन लागेको हो । मेलाकाे सम्पुर्ण तयारी पूरा भएकाे आयोजकले जनाएकाे छ ।
‘कृषि पर्यटन, उद्योग र व्यापार सम्बृद्धि बेलौरीको आधार’ मूल नारा अघि सारेर तेस्रो संस्करणमा मेला सञ्चालन गर्न लागिएको बेलाैरी उद्योग वाणिज्य संघले जनाएको छ ।

यस अघि दुई पटक मेला लगाईसकेको वाणिज्य संघले तेस्रो पटक हिउँदमै मेला संचालन गर्न लागेको छ । कृषि, उद्योग, व्यापार र पर्यटन क्षेत्रको विकास गर्दै स्थानीय स्तर उत्पादन र संस्कृतिको प्रबर्द्धन गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।
महोत्सवले स्थानीय किसान, व्यवसायी, उद्योगी, र सांस्कृतिक समूहलाई आफ्नो उत्पादन, कला र सीप प्रदर्शन गर्न विशेष प्लेटफर्म प्रदान गर्ने विश्वास लिईएकाे बेलाैरी उद्योग बाविज्य संघका अध्यक्ष हिरा सिंह विष्टले बताए । महोत्सवमा ९० वटा स्टल राखिने जनाएका छन्।
महोत्सवको अर्को मुख्य आकर्षण स्थानीय संस्कृति झल्किने कार्यक्रमहरू प्रर्दशनमा ल्याईने जनाइएको छ । भने स्थानीय व्यापारीहरूलाई स्टल बुकिङमा विशेष प्राथमिकता दिइने बताउँदै स्टल शुल्क, प्रवेश शुल्क, प्रायोजन र सरकारी तथा गैरसरकारी निकायको सहयोग प्रमुख आयका स्रोत हुनेछन्।
जिल्लाकै पूरानाे सदरमुकाम समेत रहेको बेलौरी महोत्सवले बेलौरीको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलाउने मात्र नभई स्थानीय समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
१० दिने महोत्सवले स्थानीय उत्पादन, कला, र संस्कृतिको प्रबर्द्धन गर्दै कृषि, उद्योग र पर्यटनको क्षेत्रमा नयाँ सम्भावनाहरूको ढोका खाेल्ने विश्वास गरिएको छ।

