कञ्चनपुर -नेपाली कांग्रेसले केन्द्रबाट स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरे पनि कञ्चनपुरमा भने उक्त निर्णय कार्यान्वयन नहुने सङ्केत देखिएको छ । नेपाली काँग्रेस कञ्चनपुर प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर १ ले स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको हो ।
स्थानीय स्तरका नेता कार्यकर्ताहरू गठबन्धनको पक्षमा नभएको भन्दै एक्लै निर्वाचनमा होमिने निर्णय गरेको क्षेत्रीय सचिव विसराम रानाले बताए । सचिव राना र सभापति गोपी प्रसाद उपाध्यायद्वारा जारी गरिएको बिज्ञप्तिमा पनि गठबन्धन नगर्न अनुरोध गरिएको छ ।
यहाँका सबै स्थानीय तहले गठबन्धन नगर्ने भनेपछि हामीले यस्तो निर्णय गरेका हौँ सभापति उपाध्यायले भने अब यहाँ चुनाबी गठबन्धन हुँदैन । क्षेत्र नम्बर १ मा ४ वटा स्थानीय तह पर्छ ।
बेलौरी नगरपालिका, पुर्नवास नगरपालिका, बेलडाडि गाउँपालिका र लालझाडी नगरपालिका पर्छन् । ती सबै स्थानीय तहका नेता कार्यकर्ता गठबन्धनको विपक्षमा रहेको उनले बताए । उनीहरूको माग अनुसार आफूहरुले निर्णय गरेको उनको भनाइ छ ।

