संक्रमित घटेसँगै बाँकेका अस्पतालमा शैय्या खाली

मुख्य खवर समाचार

बाँके – कोरोना संक्रमण दर घटेसँगै बाँकेमा कोरोनाको उपचार हुँदै आएका भेरी अस्पताल र शिक्षण अस्पतालका शैय्या खाली भएका छन्। लुम्बिनी प्रदेशका साथसाथै कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट प्रेषण भई आउने बिरामीको चाप हुने भेरी अस्पतालको कोभिड वार्डमा रहेका २०० शैय्‍यामध्ये ४४ शैय्‍या खाली भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार अहिले भेरीमा १४१ बिरामी छन्। त्यसमा ३३ सिकिस्त रहेका छन्। कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेका १३० शैय्‍यामध्ये ५२ शैय्‍या खाली छन्। ७८ बिरामी भर्ना भएकामा ७० सिकिस्त छन्।

यसैगरी, वेस्टर्न अस्पतालका १६ सर्जिकल शैय्‍यामध्ये १३ श्यया र युनाइटेड अस्पतालका १५ शैय्‍यामध्ये १० शैय्‍या खाली भएका छन्। बाँकेका अस्पतालमा अहिले बाहिरी जिल्लाका बिरामीको चाप रहेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए।

दुईको मृत्यु

बाँकेका अस्पतालमा भर्ना भएका थप दुई कोरोना सङ्क्रमितको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको छ। सङ्क्रमित बिरामीको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति वलीले जानकारी दिए।

उनका अनुसार कोहलपुर नगरपालिका–१४ निवासी ७० वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–१८ दाङ निवासी ७२ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

योसँगै हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१० र जिल्लाकै २९१ जनाको मृत्यु भएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *