अफगानिस्तानमा नेटो सेनाको कारबाहीमा १५ तालिबान माारिए

अन्तर्राष्ट्रिय

अफगानिस्तान-अफगानिस्तानमा कार्यरत नेटोका सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा १५ जना तालिबान लडाकू मारिएका छन्। अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सो कारबाहीमा ती तालिबानका लडाकू मारिएको समाचारमा जनाइएको छ।

अफगानिस्तानकै बाल्ख प्रान्तमा तीन दिनअघि मात्र पनि नेटोले नै गरेको कारबाहीका क्रममा कम्तीमा २५ जनाको मृत्यु भएको बताइएको थियो।मृत्यु भएकाहरुमा सबैजना तालिबान लडाकूहरु रहेको सरकारी अधिकारीहरुले जनाएका छन्। शुक्रबार राति सो घटना भएको उनीहरुले बताएका छन्।

टोलो न्युजले सम्प्रेषण गरेको समाचारमा दक्षिणी कान्दाहार प्रान्तको साइसान उपत्यकामा तालिबानहरुले सुरक्षा गस्तीमा रहेका अफगान प्रहरीमाथि आक्रमण गरेपछि नेटो सुरक्षाकर्मीले सो कारबाही गरेका थिए।

 

सोही साइसान उपत्यकाको एक गाँउमा सुरक्षाकर्मीहरुले ती लडाकूमाथि हवाई आक्रमण गरेका थिए। कान्दाहार प्रान्तका प्रान्तीय सरकारका प्रवक्ताले सो जानकारी दिएका छन् । स्थानीय समााचार श्रोतका अनुसार आक्रमणका क्रममा अरू छ जना सशस्त्र तालिबान घाइते पनि भएका छन्।

केही तालिबानहरुलाई नेटो सैनिक समूहले नियन्त्रणमा पनि लिएको जनाइएको छ। यस घटनाका बारेमा तालिबान लडाकूहरूको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *