कञ्चनपुर– कञ्चनपुरको बेदकोट नगरपालिका– २ को कार्यालयले जिल्लामै नमूना क्वारेन्टिनको व्यवस्था गरेको छ । अधिकाँस स्थानीय तहमा बनाइएका क्वारेन्टिन सरकारको क्वारेन्टिन मापदण्ड अनुसारका नभएको गुनासोकाबीच बेदकोट नगरपालिका–२ ले भने व्यवस्थित र नमूना क्वारेन्टिन बनाएको छ ।
बेदकोट नगरपालिका–२ जडेपानीस्थित बैजनाथ माध्यमिक विद्यालयको भवनलाई क्वारेन्टिनका रुपमा प्रयोग गरिएको छ । भारतबाट आउने वडाबासीहरुलाई बस्नका लागि विद्यालयलाई व्यवस्थित क्वारेन्टिन बनाइएको वडाध्यक्ष नरेश सिंहले बताए ।
‘भारतबाट आएका मानिसलाई राख्न व्यवस्थित क्वारेन्टिन तयार भएको छ ।’ वडाध्यक्ष सिंहले भने । रोगको संक्रमण फैलन नदिन संक्रमित ईलाका वा संक्रमितको सम्पर्कमा रहेका वा आवास वा होटेलमा रहेका सम्भावित जोखिम भएका व्यक्तिलाई बाह्य सम्पर्क वा छुट्टयाई तोकिएको स्थान वा घरमा १४ (चौध) दिनसम्म राख्नु पर्छ ।
सरकारले तोकेको मापदण्ड अनुसार क्वारेन्टिनलाई सुविधा सम्पन्न बनाइएको वडाध्यक्ष सिंहको दाबी छ । उनका अनुसार क्वारेन्टिनमा छुट्टा–छुट्टै बस्ने तथा महिला र पुरुषकालाई छुट्टा–छुट्टै शौचालयको व्यवस्था गरिएको छ । व्यवस्थित खाना खाने ठाउँका साथै क्वारेन्टिनमा बस्ने मानिसहरुको दैनिक दुई पटक स्वास्थ्य चेकजाँच गर्ने चाजोबाजो पनि मिलाइएको छ ।
क्वारेन्टिनमा खटिने स्वास्थ्यकर्मी र त्यहाँ कार्यरत कामदारलाई पीपीई सहित सुरक्षित राख्ने, शुद्ध पिउने पानी तथा खाना नास्ताको व्यवस्था पनि गरिएको वडाध्यक्ष सिंहको भनाई छ । तीन जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा खटिएका छन् ।
क्वारेन्टिनमा बस्नेहरुले विभिन जानकारीमूलक पुस्तक पढ्न पाउने तथा इन्टरनेटको प्रयोग गर्नु पाउने व्यवस्था पनि गरिएको छ । बैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टिनमा अहिले भारतबाट आएका २० जनालाई राखिएको वडाध्यक्षले सिंहले बताए । झण्डै २० जना भन्दा बढिलाई आज पनि राख्ने तयारी भएको छ ।

