ब्रह्माण्ड मा हरेक ठूला विपत्ति र उथलपूथल पछि सृजना पनि भएका छन्, विनाश पनि । चाल्र्स डार्बिनको ‘ओरीजीन अफ स्पेसीस’ को सीद्धान्तले पनि त्यही कुराको संकेत गर्दछ । विभिन्न किसीमका विपत्तिहरुले उठ्नै नसकिने गरि थला परेका थुप्रै देश र समाज हाम्रो अगाडि उदाहरणको रुपमा छन् र विपत्तिबाटै पाठ सिकेर उच्च मनोबलका साथ विपत्तिको व्यवस्थापन गर्दै अगाडि बढेका देश र समाजहरुले विकासको शिखर चुमेका पनि छन्् ।
कंगो ,मोजाम्बिक,युगान्डा जस्ता देशहरु विभिन्न प्राकृतिक वा अप्राकृतिक विपत्तिका कारणले चरम गरिबी ,राजनीतिक अस्थिरता ,गृह युद्ध जस्ता संकटहरुलाई जित्न अझै प्रयत्नरत छन् । जापान,अमेरीका,नर्वे आदि जस्ता थुप्रै देशहरुले इतिहासका विभिन्न कालखण्डहरुमा फरक –फरक किसीमका चूनौति तथा अप्ठ्याराहरु पार गर्दै आज भौतिक,सामाजीक,शैक्षिक, ,राजनीतिक तथा आर्थिक विकासको उच्चतम विन्दुमा पुगेका छन् ।
प्रथम र द्वितीय विश्व युद्ध जस्ता कृत्रिम विपत्ति बाट चुनौतीको पूर्वानुमान (दूरदर्शिता),स्थितिको तथ्याङ्कपरक विश्लेषण ,उच्च स्तरको राष्ट्रवाद ,दूरदर्शी योजना ,उच्च मनोबल ,पौरख आदि जस्ता कुराले छोटो समयमै थुप्रै देशले कायापलट गरेका छन् । आजको ‘कोरोना(कोभिड–१९)’ को प्रकोप पनि कुनै विश्वयुद्ध भन्दा कम छैन । अभुतपूर्व र आजको मिति सम्म अविजित यो माहामारी ले न त यकिनका साथ जनधनको क्षतिको आकलन गर्ने अवस्था छ, न त यसको अन्त्य बिन्दुको नै ठेगान छ । विश्वको सात अर्ब भन्दा बढी मानिसहरुको मष्तिष्कमा उठिरहेको सवाल भने कोरोनाले साझा बनाइदिएको छ ,त्यो हो ‘अबको बाटो के ?’
अर्को शब्दमा भन्नुपर्दा सम्पूर्ण मानव जातिको भविष्य के होला ?, अहिले सम्म मानव जातिले गरेको रसायन विज्ञान मा उपलब्धि तथा निरन्तरको प्रयास हेर्दा यो रोगको उपचार सम्भव हुने छ भन्ने घमण्ड हामी मानव जातीमा छ नै । तर, विश्व अर्थतन्त्रमा धेरै समय सम्म एकछत्र राज गरिरहेका थुप्रै देशहरुको दबदबाको जग भने अवश्य पनि अस्ति बैशाख १२(वि.स.२०७२) गते नेपालमा आएको भू–कम्पले हल्लाएझै हल्लाइदिएको छ । आर्थिक क्षेत्र मात्र नभई सामाजिक तथा राजनीतिक उथलपुथलको सम्भावना झनै बलीयो बन्दै गएको छ । नेपालको अर्थतन्त्रले विश्व अर्थतन्त्रमा पार्ने प्रभाव त नगण्य नै होला तर, ३ करोड नेपालीको भोलीको भविष्य भने हिजो अस्तिको जस्तै सामान्य हुने छैन ।
ग्रामीण क्षेत्रको निर्वाह मुखी पुरातनवादि कृषि प्रणाली ,ऐचो पैचो प्रवृति जस्ता कुराले यो महामारीमा नेपाललाई केहि राहत दिएपनि त्यसले मात्रै भोलीको अर्थतन्त्रको गतिलाई थेग्न सक्ने छैन । कूल ग्राहस्त उत्पादन(जि.डि.पि)मा कलकारखानाको न्यून योगदान ,कृषि प्रधान देश भएरपनि वर्षेनी अरबौंको कृषिजन्य उत्पादन आयात हुँदा समेत सरकारलाई चालु खर्चको जोहो गर्न खासै गाह्रो थिएन । त्यसको एउटै आधार थियो विप्रेषण तर विश्वव्यापी रोजगारी कटौतीको प्रत्यक्ष मारबाट भारत लगायत तेस्रो मूलुकमा कार्यरत नेपाली अछुतो रहने छैनन् ।
जसको प्रत्यक्ष असर नेपालको बजेटको आकारमा पर्ने छ , यसको प्रभावस्वरुप विकास त टाढाको कुरा चालु खर्च समेत धान्न सरकारलाई फलामको चिउरा चपाय सरह हुनेछ । यि र यस्तै चूनौतिका चाँङहरु नेपाल सरकार र नेपाली जनता सामु देखा परीसकेका छन् । यति मात्र होइन माथि उल्लेखीत चूनौतिले हाम्रो वर्तमान समाजमा सामाजिक समस्याको भयावह रुप पनि देखिन सक्दछ ।
एकातिर यसैगरि वर्तमान सरकारको कार्यशैलीको अकर्मण्यता , स्थानीय देखि केन्द्र सम्मका राजनीतिक व्यक्तिहरुको नैतिक अपचलन , आर्थिक तथा अन्य कारणले हुन सक्ने मानसिक तनाव जस्ता कुराले नेपाली जनताको मनोवैज्ञानीक अवस्थालाई विक्षिप्त पार्नेछ । आर्थिक सम्बन्धि ‘अबको बाटो’ः माथि उल्लेखित चूनौतिहरुको चाङ ठूलो नै छ ।
तर चूनौतिसंगै आएका अवसरहरुको पनि कमि हुने छैन । हामीले सुन्दै आयौ ,विगतका सरकारहरुले पटक–पटक आफ्ना निती तथा कार्यक्रमहरुमा यूवाहरुलाई स्वदेशमै मिहेनतको पसिना बगाउने वातावरण बनाउने उद्देश्यले केहि फूटकर योजना नल्याएको होइन, तर ति अदुरदर्शी योजना हरुको परिणामले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा वैदेशीक रोजगारी,क्षमतावान र उच्च शिक्षा हासिल गरेका वौद्धिक र विषयगत दक्ष जनशक्तिहरुलाई पलायन हुन प्रेरित गर्दै आएको छ ।
तर यो प्रकोपले सरकारले भनेजस्तै र विभिन्न राजनितिक पार्टिहरुले आफ्नो घोषणा पत्रमा उल्लेख गरेजस्तै स्थिति बाध्यात्मक रुपमा सृजना गर्ने छ र दशौ लाख मान्छेहरु रिर्भस माइग्रेसन हुन बाध्य हुनेछन् । स्वदेशमा रहेका दक्ष जनशक्तिले केहि वर्षका लागि मात्र भएपनि विश्वकै अवसरहरुको राजधानी भनेर चिनिने यूरोप र अमेरीका जाने सपना देख्न छैनन् । विदेशीयका स्वदेश फर्किने छन् भने सहर पसेकाहरु धेरै जसोलाई गाँउ नै प्यारो लाग्ने छ । वस्तु बजार (कमोडिटी मार्केट) आयातमुखि व्यवसायहरु र अन्य असुरक्षित खालका व्यवसायहरु प्राय ध्वस्त नै हुनेछन्,जसको फलस्वरुप आजका दिनसम्म तिरस्कृत हुँदै आएको कृषि पेशामा लगानीकर्ताहरुको ध्यानाकर्षण हुनेछ । विदेशमा वर्षौसम्म इलम गर्दै आएका नेपालीहरुले कम्तिमा पनि मिहेनत भनेको के हो भन्ने कुरा बुझेका हुनेछन् ।
साथै कार्यगत दक्षता ,आफू बसेको मूलुकको सामाजिक आर्थिक सम्बन्धि ज्ञान ,प्रविधिको सदुपयोेग सम्बन्धि ज्ञान आदि बुझेका हुनेछन्, फलस्वरुप तिनले भविष्यमा अंगीकार गर्ने पेशा व्यवसाय हिजोको भन्दा फरक हुनेछ । घरेडि विक्रिका लागि प्लटीङ्ग गरिएका र कामदारको अभावले वर्षौ सम्म आवाद हुन नसकेका भूमिमा कृषि कर्म हुनेछन् । नेपालको कुल भुभाग मध्येको तिस लाख हेक्टर भन्दा बढी खेतीयोग्य जमीनमा परम्परागत खेतीमात्रै हुने छैन ,अत्याधुनिक औजार उपकरण ,दक्ष र मिहेनति जनशक्ति,उन्नत बिउबिजन आदिको प्रयोगले वर्तमान उत्पादन भन्दा कैयौँ गुणा उत्पादनमा वृद्धि हुनेछ ।
हिजो आजका दिनसम्म महिला र वृद्धवृद्धा मात्र बसोबास गर्ने गाँउपाखाहरुमा विस्तारै चहलपहल बढ्ने छ , किलमेल बढ्नेछ ,ढुवानीका साधनहरुले थप काम पाउनेछन् कृषिमा आधारित कच्चा पदार्थबाट सञ्चालीत उद्योगहरु थप उत्पादन वृद्धि गर्न सफल हुनेछन् ,नयाँ–नयाँ उद्योगधन्दा,कलकारखाना,व्यापार व्यवसाय हरुको श्री गणेश हुनेछ र फलस्वरुप गत आर्थिक वर्षमा मात्र कूल १ खर्ब ६० अर्ब ५८ करोड बराबरको कृषि जन्य उत्पादन आयात गर्ने हाम्रो देश विश्वको कूल जनसंख्याको करिब एक तिहाइ जनसंख्या र उदयमान अर्थतन्त्र भएको चिन र भारत जस्ता देशहरुलाई कृषिजन्य उत्पादन निर्यात गर्न सक्ने हैसीयत मा पुग्ने छ ।
उस्तै प्राकृतिक रुपमा धनि हाम्रो देश प्राकृतिक स्रोत र साधनहरुको उच्चतम सदुपयोगले समष्टिगत तथा दिगो विकासको दिशामा देश अगाडि बढ्नेछ । परम्परागत रुपमा संचालन हुँदै आएका तर नयाँ पुस्ताले खासै चासो नदिएका हाम्रा मौलीक कला र संस्कृति झल्काउने पेशा व्यवसायहरुले नयाँ जीवन प्राप्त गर्ने छन् । सामाजीक बाटो ः प्राचिन काल देखि सनातन धर्म र संस्कृति अंगीकार गर्दै आइरहेको मौलीक नेपाली समाजमा संस्कृति माथिको बाह्य हस्तक्षेप , बैदेशीक रोजगारीले सृजना गरेको जटील सामाजीक समस्याहरु आदि जस्ता कुराहरु वर्तमान समयमा पनि हाम्रो देशले भोग्दै आइरहेको छ ।
आजका दिनसम्म प्राय रित्ता हाम्रा गाउघरहरुमा अब भने विस्तारै चहलपहल बढ्ने छ । घरघरमा हरेक दिन खुसीयालीको माहोल बन्ने छ ,नव दम्पत्तिहरु छुट्टिने छैनन् र जसले गर्दा हाल समाजमा व्याप्त अनैतिक आचरण र क्रियाकलापहरुमा कमी आउने छ ।नानी बाबुहरुले आफ्ना आमा बुवाहरुको सामीप्यता र न्यानो माया पाउनेछन् भने बुढा आमाबुवाहरुले सन्तानहरुको स्नेह र स्याहार सुसार पाउनेछन् । जसले गर्दा सानै देखि पठनपाठन र नैतिक व्यवहारमा उपलब्धि मील्दै जानेछ । चाँडपर्व मेला आदिमा छुट्टै रौनकता छाउने छ । मानिसको स्थिती हिजो आजको जस्तो एकोहोरो हुने छैन जसले गर्दा नयाँ–नयाँ रचनात्मक प्रयासहरुको थालनी हुनेछ ।