गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण कार्य स्थगित

खेलकुद

चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य स्थगित गरिएको छ । धुर्मुस सुन्तली फाउन्डेसनले शनिबार विज्ञप्ति जारी गर्दै तत्कालका लागि रंगशालाको निर्माण कार्य स्थगित गरिएको जनाएको छ । फाउन्डेसनले विश्वमै महामारीका रूपमा फैलिएको कोरोना भाइरसकै कारण आफूहरूले निर्माण गरिरहेको रंगशालाका सबै काम स्थगित गरेको बताएको छ ।

कोरोना भाइरस (कोभिड १९)ले विश्वव्यापी रूपमा नै प्रभावित बनाएको छ । त्यसको असर गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण कार्यमा समेत परेको फाउन्डेसनको भनाइ छ । ‘सामान्य जनजीवनदेखि राष्ट्रिय गौरवका आयोजना र परियोजनासमेत प्रभावित भइरहेका छन्, यस्तोमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अछुतो रहने कुरै भएन,’ फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको काम सुरु भएको चार महिनाभित्र सात क्रिकेट पिच तयार भएको फाउन्डेसनले जानकारी दिएको छ । यसका साथै खेल मैदानको ८५ प्रतिशत काम र प्यारापिट तयारी स्वरूप जग खन्ने काम पनि ९० प्रतिशत पूरा भएको विज्ञप्तिमा उल्लेख छ । निर्माण कार्य रोकिनुअघिसम्म ६४ वटा पिल्लरको आकार बनाउने काम पूरा भएको छ । यसैगरी, खेलमैदानको पिचमा प्रयोग हुने माटो सम्याउने काम अगाडि बढेको फाउन्डेसनले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *