ऐतिहासिक दरबार हाइस्कुलका रूपमा परिचित भानु माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि नयाँ भवनबाट कक्षा सञ्चालन गर्ने भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको भवन निर्माण कार्य सम्पन्न भएसँगै यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालनको तयारी गरिएको हो । नेपाल र चीन सरकारको निर्माण प्राविधिक टोलीले अन्तिम स्वीकृति दिएर नेपाललाई हस्तान्तरण गरेपछि वैशाखबाट विद्यार्थीले भवनमा पठनपाठन गर्न पाउनेछन् ।
विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले नयाँ शैक्षिक सत्रबाट विद्यार्थीलाई नवनिर्मित दरबार हाइस्कुलमा सार्ने गरी आफूहरू आन्तरिक तयारीमा जुटेको जानकारी दिनुभयो । १८ महिनाको अवधिमा चीन सरकारले छनौट गरेको साङ्घाई कन्स्ट्रन्क्सन प्रालिले निर्माण कार्यलाई पूर्णता दिएको हो ।
झण्डै ८० करोड लगानीमा निर्माण कार्य पूरा भएको विद्यालय भवन निक्कै आकर्षक बनेको छ । यसअघि सरकारले क्षतिग्रस्त भवनमा रातो स्टिकर टाँसेपछि विद्यार्थीले निकै जीर्ण भवनमा अध्ययन गर्दै आएका थिए ।

