कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सरकारले २३५ आईसीयू बेड तयार पार्ने भएको छ । साथै कोरोनाको उपचारका लागि काठमाडौं उपत्यकामा तीन वटा अस्पताल छुट्याइएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएको छ । यसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले महाहारी घोषणा गरिसकेको छ । कोरोना संक्रमण फैलिन नदिन नेपालले पनि पर्यटक भिसा रोकेको छ भने धेरै संक्रमण फैलिएको देशबाट आएकाहरुले क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।
कोरोनाको संक्रमण रोकथामका लागि सरकारले गरिरहेको प्रयासबारे आइतबार राष्ट्रियसभालाई जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानभक्त ढकालले कारोना भाइरसलाई नेपालमा प्रवेश गर्न नदिने प्रयास भइरहेको बताए ।
संक्रमण भित्रिहाल्यो भने पनि नियन्त्रणमा लिनसक्ने गरी काम भइरहेको भन्दै उनले भयभीत र आतंकित नहुन सर्वसाधारणलाई अपील गरेका छन् ।

