पालिका चुनावका लागि आचारसंहिता आज राति १२ बजेदेखि लागू हुने

मुख्य खवर राजनीति विशेष समाचार

काठमाण्डाै आउँदो वैशाख ३० गते हुने पालिका चुनावका लागि आज शुक्रवार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।

निर्वाचन आयोगको बैठकले भरे राति १२ बजेदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले चुनावको ३४ दिनअघिदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको बताउनुभयो । आचारसंहिता यसअघि नै नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।

आचारसंहितामा गर्न पाइने र गर्न नपाइने कुरा खुलाइएको छ । आचारसंहितामा शैक्षिक संस्थामा निर्वाचनसम्बन्धी भेला, प्रचार गर्न नहुने व्यवस्था गरिएको छ ।

यस्तै सार्वजनिक सम्पत्ति कुनै उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न नहुने, चुनावसँग सम्बन्धित सूचनालाई बिगार्न नहुने कुरा पनि आचारसंहितामा उल्लेख छ ।

राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित ज्याकेट, टी–सर्ट, टोपी, लकेट अगायत कुनै पनि पहिरन तथा स्केच बनाउन नपाइने भएको छ । १८ वर्षमुनिका बालबालिकालाई प्रचारमा सामेल गर्न पाइने छैन ।

नेपाल सरकार, प्रदेश सरकार र पालिका सरकारका पदाधिकारीले आचारसंहिता लागू भएपछि कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । आफू उम्मेदवार भएमा भने आफ्नो प्रचार गर्न पाउनेछन् ।

अब नयाँ योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण, अध्ययन पनि गर्न पाइने छैन । त्यस्तै पुरस्कार, सम्मान वितरण गर्न पाउने छैनन् भने निर्वाचन आयोगको स्वीकृति नलिइ कर्मचारी सरुवा, बढुवा र नियुक्ति गर्न पाइने छैन । शिक्षकले पनि कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *