धनगढी वन निर्देशनालयका प्रमुख बिष्टविरुद्ध अख्तियारमा भ्रष्टाचारकाे मुद्वा

मुख्य खवर राजनीति विशेष समाचार

धनगढी – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकार, वन निर्देशनालय, धनगढी, कैलालीका निमित्त वन निर्देशक हेम राज बिष्टविरुद्ध करोडौंको भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

आयोगले बुधबार निर्देशक बिष्टविरुद्ध ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अनुसन्धानका क्रममा बिष्टले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा आर्थिक अनियमितता गरेको अख्तियारको दाबी छ।

आयोगका अनुसार आर्थिक कार्यक्रमअन्तर्गत सामुदायिक वन उपभोक्ता समुहका साधारण सदस्यहरु र पदाधिकारीहरुले किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एकभन्दा धेरै वन उपभोक्ता समुहमा सदस्य बनाइ रुख कटान गर्ने गरेको भन्ने विषयमा छानबिन गर्दा भ्रष्टाचार देखिएको हो।

यस विषयमा सार्वजनिक लेखा समितिको उपसमितिद्वारा गठित वैज्ञानिक वन ब्यवस्थापन अध्ययन उपसमितिले समेत दोषीमाथि छानबिन गरी कारबाही गर्न माग गरेको थियो।

विसं २०५५ वैशाख १७ गते वन सेवाअन्तर्गतको सेवामा प्रवेश गरेका बिष्टले २०५५ देखि २०७७ सम्म सिर्जित गरेका सम्पत्ति एवं खर्च तथा लगानीहरुमा गरिएको कूल खर्च र सोही अवधिको आयव्ययको प्रवाह विवरण अनुसार जाँच गर्दा झण्डै ७ करोड अकूत सम्पत्ति आर्जन गरेको अख्तियारको भनाइ छ।

अख्तियारले बिष्टले सार्वजनिक सेवामा पदको  दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी श्रीमती रुबी जिसी बिष्टको नाममा समेत राखेको पाइएको भन्दै रुबीलाई समेत  प्रतिवादी बनाइ मुद्दा दर्ता गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *