प्रदेश २ का कुनै पनि जिल्लामा कांग्रेसको वडा अधिवेशन भएन

विशेष समाचार

जनकपुरधाम – १४ औ‌ महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको प्रदेश–२ का आठवटै जिल्लामा निर्धारित तालिका अनुसार शुक्रबार वडा अधिवेशन हुन सकेन। क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा प्रदेश २ का कुनै पनि जिल्लामा निर्धारित कार्यतालिका अनुसार वडा अधिवेशन सुरु हुन नसकेको हो।

कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले क्रियाशील सदस्यता सम्बन्धी विवादका कारण आज वडा अधिवेशन हुन नसकेको बताए। गिरीका अनुसार धनुषामा नवीकरण सम्बन्धी विवाद नरहे पनि नयाँ सदस्यता सम्बन्धी विवाद छ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर १ र ४ को सदस्यता विवाद कायम छ। ‘ति क्षेत्रमा क्रियाशील सदस्यता सम्बन्धी फारम भर्ने जिम्मा क्षेत्रीय सभापतिहरूलाई दिइएको थियो, क्षेत्रीय सभापतिहरूले केन्द्रीय सर्कुलर अनुसार फर्म नभरेकाले उजुरी परेर विवाद केन्द्रीय छानबिन समितिले हेरिरहेको छ’, गिरीले भने ‘दुवै क्षेत्रको विवाद समाधान भएलगत्तै धनुषामा वडा अधिवेशन सुरु हुनेछ।’

निर्वाचन क्षेत्र नम्बर १ र ४ को सदस्यता विवाद सुल्झाउन पूर्व राष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव साउन ३ गतेदेखि १२ गतेसम्म कांग्रेस केन्द्रीय कार्यालयमा अनशनसमेत बसेका थिए। उनलाई क्षेत्र नम्बर १ का पूर्वसांसद प्रेमकिशोर साहले पनि समर्थन गरेका थिए।

यादवले क्षेत्रीय सभापति योगेन्द्र पंजियार तथा कांग्रेस केन्द्रीय सदस्य महेन्द्र यादवले ८ सय ८३ जनालाई केन्द्रीय परिपत्र तथा निर्देशिका विपरीत सदस्यता दिएको आरोप लगाएका छन्।

यादवले भने, ‘केन्द्रीय नेताहरूले सदस्यता विवाद चाँडै समाधान हुने प्रतिबद्धता जनाएपछि अनशन तोडे तर हालसम्म समस्या समाधान भएको छैन।’ प्रदेश २ को ८ वटै जिल्लामा एक साताभित्रै वडा अधिवेशन हुने प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवं प्रदेश कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले बताए।

उनले प्रदेशभरको क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गर्न प्रयास भइरहेको र चाँडै समाधान हुने उनले विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *