सबैको पहलमा मात्रै महामारी नियन्त्रण हुन्छ : प्रधानमन्त्री देउवा

राजनीति विशेष समाचार

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको पहलबाट मात्रै कोरोना महामारी चाँडो नियन्त्रण हुने बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयले शुरु गरेको मास्क अभियानको सन्दर्भमा सन्देश दिँदै प्रधानमन्त्री देउवाले कोरोना सङ्क्रमण रोक्नका लागि अत्यावश्यक नपरी घरबाहिर ननिस्कने, राम्रोसँग मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, बारम्बार साबुन पानीले हात धुने लगायतका स्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह गर्नुभयो ।

नेपालमा पनि कोरोना महामारीको तेस्रो लहर चाँडै आउने संकेत देखिएको भन्दै उहाँले राजनीतिक दल, नागरिक, सामाजिक संघसंस्था सबैसँग स्वास्थ्यका मापदण्ड पालना गर्न र भीडभाड हुने गतिविधि नगर्न आग्रह गर्नुभयो । महामारी नियन्त्रणको प्रभावकारी उपाय खोप भएको र अहिले खोप अभियान चलिरहेको भन्दै उहाँले खोप लगाउन जाँदा पनि स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि शुक्रवारसम्म महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता भन्ने मूलनाराका साथ मास्क अभियान शुरु गरेको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले  जनस्वास्थ्यमा मापदण्ड उल्लघंन भएको र मास्क लगाउन पनि लापरबाही गरेकाले स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन अभियान सुरु गरेको बताउनुभयो । एक हप्ते अभियानमा मास्क कसरी लगाउने भनेर सिकाइने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *