काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १९ सय ९३ जना कोरोना भाइरस संक्रमणमुक्त भएको जानकारी दिएको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरबाट १ हजार ९ सय ९३ जना संक्रमणबाट निको भइ घर डिस्चार्ज भएको जानकारी दिएका हुन् । यो सँगै निको हुनेको संख्या २ लाख ८९ हजार ७ सय ८३ पुगेको छ ।
देशभरको प्रयोगशाला गरिएको २० हजार ७ सय ५६ पीसीआर परीक्षणबाट २४ घण्टामा नेपालमा ८ हजार ६ सय ५ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिएका हुन् । उनका अनुसार ६ सय १६ एन्टिजेन परीक्षणमा ५४ जनामा संक्रमण देखिएको छ ।
हालसम्म पीसीआर विधिबाट २५ लाख ५८ हजार ५१ नमुना परीक्षण गरिएको छ । सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ पुगेको छ भने क्वारेन्टाइनमा रहनेको संख्या ३ सय ८१ छ ।

