कञ्चनपुर- पुनर्वास नगरपालिका -१ ढक्का हिरापुर बस्ने ७१ वर्षीया वृद्धा खण्टी भुलको हत्या गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । शनीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार, वृद्धा खण्टी भुलको हत्या गरेको आरोपमा कैलालीको मोहन्याल घर भई हाल कञ्चनपुरको लालझाडी स्थित चानदेव ढक्का शिबिर बस्ने ४९ वर्षीय दल बहादुर बिकलाई पक्राउ गरिएको हो ।

चम्का भनी चिनिने पुर्वमाओवादी कार्यकर्ता दल बहादुर बिकको घर वृद्धाको घरदेखि एक सय मिटर पश्चिममा समेत रहेको स्थानीयले जनाएका छन् । यही पुस ११ गते रातिको समयमा घरमा एक्लै बसेको मौका छोपी धारिलो हतियारले वृद्धा खण्टी भुलको मुख, टाउको र अनुहारमा प्रहार गरी हत्या गरेर नाक, कान र घाँटीमा लगाएका सुनका गरगहना लगी फरार भएको अभियुक्त दल बहादुर बिकले प्रहरी समक्ष बयान दिएका छन् ।
उनको घरमा कानुन बमोजिम खानतलासी गर्दा मृतकले घटनापूर्व कानमा लगाएको सुनको मुन्द्रा दुई थान, तिलहरी एक थान र घटनामा दल बहादुर बिकले प्रयोग गरेको धारिलो हतियार, चप्पल, कपडा र एक थान बासुलो समेत फेला पारी वरामद गरेको प्रहरीले जनाएको छ । वृद्धा खण्टी भुलको विभत्स हत्या भएको अवस्थामा आफन्तजनले पुस १२ गते दिउँसो घरभित्रै शव फेला परेको थियो ।

