चीन-भारत सीमा विवादमा अमेरिका मध्यस्थता गर्न तयार छ: ट्रम्प

अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतबीच देखिएको सीमा विवादको समाधानका लागि अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका छन्। बुधबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले दुबै देशलाई अमेरिकाले मध्यस्थता गर्न चाहेको मात्र नभई समस्या समाधान गर्न पनि सक्षम भएको जानकारी गराइसकेको बताएका छन्।

पछिल्लो समय लद्दाख र सिक्किममा चीन र भारतका सैनिकहरूबीच धकेलाधकेल र झडपसमेत भएका विवरणहरू सार्वजनिक भइरहेका छन्। भारतीय सञ्चारमाध्यमहरूले सन् १९९९ को कार्गिल युद्धपछि पहिलो पटक लद्दाखमा चिनियाँ सैनिकसँग तनाव तीव्र भएको बताएका छन्।

पछिल्ला दिनमा पूर्वी लद्दाखको लाइन अफ कन्ट्रोलनजिकै चीनले थप ५ हजार फौज उतारेको उनीहरूको दाबी छ। सीमा क्षेत्रमा तनाव बढिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रिय सुरक्षा सल्लाहकार सहित अधिकारीहरूसँग छलफल गरेका छन्।

मंगलबार नै चिनियाँ राष्ट्रपति सी चिनफिङले जनमुक्ति सेनालाई लडाइँका लागि तयारी बढाउन निर्देशन दिएका छन्। चीन र भारतबीच ४ हजार किलोमिटरभन्दा बढी सीमा जोडिएको छ। तीमध्ये कतिपय ठाउँमा अहिले पनि सीमा एकिन भएको छैन। लाइन अफ कन्ट्रोल कुन हो भन्ने एकिन नहुँदा सीमामा तैनाथ दुबै देशका सेनाहरूबीच धकेलाधकेल भइरहन्छ।

पछिल्लो समय सीमामा खटिने दुबै देशका सैनिकहरूसँग हतियार नहुने भएकाले उनीहरूको विवादमा गोली हानाहान भने हुँदैन। तीन वर्षअघि चीन,भारत र भुटानको सीमामा पर्ने दोक्लम क्षेत्रमा दुई देशका सैनिक आमनेसामने भएका थिए। दोक्लम क्षेत्रमा चीनले बाटो बनाएपछि भारतले रोक्न खोजेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *