संक्रमितको सम्पर्कमा रहेका ३२ प्रहरीसहित ४६ जनाको स्वाब संकलन

समाचार

बैतडी – बैतडीका कोरोना संक्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ४६ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको छ। जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दाको आरोपमा थुनामा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो। प्रहरी हिरासतमै रहेका युवकमा कोरोना संक्रमण पुष्टि भएपछि ती युवकसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३२ जना प्रहरी, जिल्ला प्रशासन कार्यालयका एकजना कर्मचारी, जिल्ला अदालतका १२ जना कर्मचारी र जिल्ला अस्पतालका एकजना चिकित्सकको स्वाब संकलन गरिएको उनले बताए। यस्तै, संक्रमित युवक शिवनाथका भएकाले ती युवकको सम्पर्कमा आएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र उनका आफन्त गरेर २२ जनाको स्वाब संकलनका लागि टोली पठाइएको छ। उनीहरुले आइतबार स्वाब संकलन गरेर धनगढी पठाइने छन्।

संक्रमित युवक गत वैशाख १५ देखि प्रहरी हिरासतमा रहेकाले प्रहरीको स्वाब संकलन गरिएको हो भने वयानका लागि अदालतमा पनि गएकाले अदालतका कर्मचारीहरुको पनि स्वाब संकलन गरिएको हो। संक्रमित सबै एउटै गाउँपालिकाका बैतडीको एकै गाउँपालिकाका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीयहरुमा कोरोनाको त्रास बढेको छ। उनीहरु भारतबाट फर्किएका शिवनाथ गाउँपालिकाका हुन्।  शुक्रबार संक्रमण पुष्टि भएका २२ वर्षीय युवक शिवनथा गाउँपालिका–२ हुन्। उनी अहिले जिल्ला अस्पतालको आइसोलेसन कक्षमा छन्।

यस्तै, शनिबार संक्रमण पुष्टि भएका चारजना पनि शिवनाथ कै हुन्। उनीहरु यसैसाता कैलालीको गौरीफन्टा नाकाबाट स्वदेश फर्किएका हुन्। उनीहरुको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको थियो। शनिबार संक्रमित भएका युवकहरु बैतडी नआए पनि उनीहरुसँगै रहेका धेरै युवकहरु बैतडी भित्रिएका शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए। शनिबारसम्म ४७५ जना शिवनाथका मात्रै भित्रिएका छन्।

उनीहरु संक्रमितहरुसंगै भारतको मुम्बइ, नासिकलगायतका ठाउँबाट बैतडी भित्रिएको बुझिएको छ। गौरीफान्टा नाकाबाट बैतडीका धेरै नागरिक बिनापरीक्षण जिल्ला भित्रिएका छन्। शुक्रबार झुलाघाट नाकाबाट पनि बैतडीका १६२ जना बिनापरीक्षण जिल्ला भित्रिएका छन्। भारतबाट फर्केका नागरिकहरुको परीक्षण नहुँदा कोरोनाको जोखिम बढ्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *