कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका–१० सिसैया हरपालकी ३३ वर्षीया एक महिलामा काठमाडौँमा कोरोना संक्रमण देखिएको छ । कञ्चनपुरबाट काठमाडौँ गएकी ती महिलामा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य कार्यालय कञ्चनपुरले उनको सम्पर्कमा रहेका व्यक्तिको खोजी कार्य (कन्ट्याक्ट ट्रेसिङ) सुरु गरेको छ ।
संक्रमित महिलाले कञ्चनपुरमा झण्डै दुई महिना बिताएको कन्ट्याक्ट ट्रेसिङबाट खुलेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले निकालेको संक्रमित महिलाको ‘ट्राभल हिस्ट्री’ अनुसार उनी चैत ६ गते कान्छो देवरको ब्रतबन्ध कार्यका लागि काठमाडौँबाट बसमा कञ्चनपुर बेदकोट नगरपालिका–१० हरपाल, सिसैयास्थित घरमा आएकी थिइन् ।
बसमा उनकै देवर, १४ वर्षीया छोरी र ९ वर्षका छोरा समेत काठमाडौँबाट कञ्चनपुर आएका थिए । उनी चढेको बसमा कति मानिस थिए भन्ने अझै खुलेको छैन् ।
सशस्त्र प्रहरीबाट अवकास प्राप्त ती महिलामा देखिएको कोरोना संक्रमणको स्रोत पनि पत्ता नलागेको स्वास्थ्य कार्यालयले जनाएको छ । ब्रतबन्धका लागि पुख्र्यौली घर डडेल्धुराको भागेश्वर गाउँपालिकामा पर्ने लामकाँडा जाने तयारीमा रहेकै बेला लकडाउन भए पछि उनिहरु बेदकोट नगरपालिकास्थित घरमै रोकिएका थिए ।
कञ्चनपुर पुगेका उनिहरु झण्डै ५२ दिन पछि काठमाडौँ फर्किए । मेडिकल टिम लिएर काठमाडौँबाट धनगढी आएको सशस्त्र प्रहरीको भ्यानमा उनिहरु काठमाडौँ फर्किएको खुलेको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोरोना फोकल पर्सन सिद्धराज भट्टले बताए ।
संक्रमित महिलाका श्रीमान काठमाडौँस्थित सशस्त्र प्रहरीको बलम्बु अस्पतालको ल्याबमा कार्यरत छन् । संक्रमित महिलाले कैलालीको अत्तरिया पुग्न अटो प्रयोग गरेका छन् । वैशाख २८ गते बेलुका अटोमा दुई बच्चा (१४ बर्षीया छोरी, नौ बर्षीय छोरा) लाई लिएर कैलालीको अत्तरिया पुगिन् । कोराना संक्रमित महिलालाई कैलालीको अतरियासम्म ओसार्ने अटो चालक उनकै गाउँकै हुन ।
उनको मासु पसल समेत रहेको बुझिएको छ । मेडिकल टिम लिएर धनगढी आएको सशस्त्र प्रहरीको भ्यानमा संक्रमित महिला, उनका छोरा छोरी र अन्य ५ जना (फर्केको भ्यानमा रहेका) गरी आठ जना त्यो राती कोहलपुरमा बास बसेका थिए ।
त्यसपछि बैशाख २९ गते बिहानै उनिहरु काठमाडौंका लागि त्यहाँबाट हिडेका थिए । बाहिर जिल्लाबाट आउनेहरु रुटिन जाँच अन्तरगत काठमाडौंमा सशस्त्र प्रहरीको क्याम्पमा सो भ्यानमा रहेका सबैको स्वास्थ्य जाँच गरिएको थियो ।
उनीहरुमध्ये ती महिलामा मात्रै मंगलवार बेलुका कोरोना पोजेटिभ देखिएको थियो । पुख्र्यौली घर डडेल्धुरा भएका उनीहरु पछिल्लो समय कञ्चनपुर सरेका थिए । तर हाल काठमाडौँको चन्द्रागिरी नगरपालिका– ९ मा बस्दै आएका छन् ।
बेदकोट नगरपालिका–१० हरपाल गाउँमा उनको परिवारमा हाल पाँच सदस्य रहेका छन् । कोरोना संक्रमित महिलाको सम्पर्क आएका उनको परिवारका सदस्य, छिमेकी, अटो चालक सहित गरी ३० जनाको पीसीआर परीक्षणको तयारी भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन भट्टले बताए ।
‘संक्रमितको सम्पर्कमा आएकाहरु झण्डै ३० जनाको पीसीआर परीक्षणको गर्न लागिएको छ, त्यसका लागि किट माग गरिएको छ ।’ उनले भने, ‘लकडाउनको पालना गरी संक्रमित महिला घरभित्रै बसेकी थिइन ।’ संक्रमित महिला अहिले टेकु अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छिन् ।
उनको अवस्था सामान्य छ । कञ्चनपुरस्थित घरमा बसाईको बेला उनमा कुनै लक्षण देखिएको थिएन । काठमाडौँमा स्वास्थ्य चेकजाँचका क्रममा कोरोना संक्रमण देखिएको हो । यता सुदूरपश्चिममा भने पाँच जनामा कोरोना संक्रमण देखिएको थियो, पाँचै जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

