भारतबाट ट्युबमार्फत महाकाली नदी तरेर नेपाल फर्कने क्रम जारी

विशेष

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीका विभिन्न ठाउँमा नेपालीहरु फर्कने क्रम अझै पनि जारी रहेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले सीमा नाका बन्द गरे पनि महाकाली नदी ट्युबमार्फत तरेर नेपाल फर्कने क्रम जारी छ ।

भारतका विभिन्न ठाउँमा अलपत्र परेका नेपालीहरु ट्युबमार्फत स्वदेश फर्किरहेका छन् । सीमा नाका बन्द हुँदा आफूहरुलाई समस्या परेकाले ट्युबमार्फत नेपाल आएका शिवनाथ गाउँपालिकाका जयसिंह साउँदले बताउनुभयो। भारतमा अलपत्र परेपछि आफूहरु जोखिम मोलेर स्वदेश फर्किएको उहाँले बताउनुभयो।

सीमा नाका खुला नहुँदा जोखिम मोलेर नेपाल भित्रिनु परेको नागरिकहरुले बताएका छन् । भारतसँग सीमा जोडिएका विभिन्न ठाउँमा अझै पनि नेपालीहरु अलपत्र परेका छन् । कोरोना भाइरसका कारण रोजगारी खोसिएपछि आफूहरु अलपत्र परेको बाजुराको बुढीनन्दा नगरपालिका ९ का मनबहादुर बोहराले बताउनुभयो। चार दिन कल्भर्टमुनि बसेको र पछि प्रहरीले पुरानै ठाउँ जान भनेपछि आफूहरु एउटा खाली घरमा भोकभोकै बसिरहेको उहाँले बताउनुभयो।

ट्यूवबाट महाकालि तरेर आएका ब्यक्तिहरुलाई सम्बन्धीत जिल्लामा पठाउने गरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *