कञ्चनपुर– जिल्लाको वेदकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ९२ करोड २० लाख ५० हजार बराबरकाे बजेट ल्याएको छ।
आइतबार नगरप्रमुख भोजराज बोहराको सभा अध्यक्षता सम्पन्न कार्यक्रममा उपप्रमुख प्रमुख तुलसी जोशीले आगामी आर्थिक बर्षका लागि ९२ करोड २० लाख ५० हजार बराबरको बजेट नगरसभामा प्रस्तुत गर्नु भएकाे हाे ।
जस मध्ये संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत प्राप्त रु. १४ करोड ८ लाख, राजश्व वाँडफाडबाट रु.१२ करोड ४६ लाख ९९ हजार, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान तर्फ कूल रु. २८ करोड ६१ लाख, संघीय बिशेष अनुदान अन्तर्गत प्राप्त रु.१ करोड २० लाख, संघीय समपुरक अनुदान रु. ७० लाख रहेको छ ।
यसैगरी, प्रदेश सरकारवाट प्राप्त वित्तिय समानीकरण अनुदान रु. १ करोड २६ लाख ४४ हजार, बिशेष अनुदान अन्तर्गत प्राप्त रु। ६० लाख, सवारी साधन कर वाडफाँड शिर्षकमा प्राप्त रु. ८१ लाख १२ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुर अन्तर्गत रु. १ करोड रहेको छ ।
अगामि आ.व.को लागि प्रक्षेपित आन्तरिक आयश्रोत तर्फ रु. ३ करोड, चालु आ।व।वाट खर्च नभई वाँकी रहन सक्ने अनुमानित रकम रु. ६ करोड ६२ लाख ४५ हजार, सामाजिक सुरक्षा तर्फ प्राप्त रकम रू २१ करोड अनुमान गरिएको छ ।
चालु आर्थिक वर्ष २०७९÷०८० मा यस नगरपालिकाको सबै शिर्षक गरेर गत वर्षको मौज्दात सहित कूल वार्षिक बजेट रु. ९८ करोड ५१ लाख ६२ हजार मध्ये चालु तर्फ रु.६८ करोड ५१ लाख २८ हजार र पुजिगत रकम रु ३० करोड ३४ हजार विनियोजन भएकोमा हालसम्मको चालु तर्फ खर्च रु. ४६ करोड १३ लाख ३६ हजार र पुजिगत तर्फ खर्च रु. ८ करोड ९४ लाख १३ हजार भएको छ ।
चालु आर्थिक वर्ष २०७९/०८० को लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत अनुमानित कुल आय रु. १६ करोड ४४ लाख भएकोमा वास्तविक आय रु. १४ करोड ३८ लाख ५० हजार प्राप्त भएको, राजश्व वाँडफाडबाट रु.१२ करोड ७२ लाख ६१ हजार प्राप्त हुने अनुमान गरिएकोमा हालसम्म रु. ७ करोड ९६ लाख ५६ हजार ५ सय ८० मात्र प्राप्त भएको, प्रदेश सरकारवाट अनुमानित वित्तिय समानीकरण अनुदान रु. १ करोड १९ लाख ५४ हजार भएकोमा हालसम्म रु. १ करोड ४ लाख ४९ हजार ७ सय ५० मात्र प्राप्त भएको । चालु आ।ब।मा संघीय सरकार र प्रदेश सरकार मार्फत प्राप्त हुने अनुमान गरिएको कुल अनुदान रकम भन्दा रु. ६ करोड ९६ लाख ४८ हजार ६ सय ७० घटी प्राप्त भएको ।
यसैगरी न्यायीक समीतीले आफनो प्रतिवेदन पनि पेश गरेको छ । २०७९ श्रावणदेखी २०८० जेठ मसान्तसम्म २४ वटा मुद्धा मध्ये २२ वटा फर्छयौट गरेको र २ वटा प्रक्रियामा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जसको कारणले चालु आ.ब. मा खर्चको अनुपात घट्न गई केही निर्धारित योजना तथा कार्यक्रमहरु संचालन गर्न नसकिएको उपप्रमुख जोशीले बताईन् ।
के-के परे प्रााथमिकतामा
आगामी आर्थिक बर्षको निति तथा कार्यक्रममा नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषी, आर्थिक विकास, पर्यटन प्रवर्द्धन क्षेत्रको विकास , सामाजिक विकास, विद्युतिय समस्याको समाधान, वन, वातावरण तथा सरसफाई, सुुशासन प्रवर्द्धन, प्राकृतिक तथा मानविय विपद ब्यवस्थापन आदिलाई प्राथमिकतामा राखेका छन ।
आर्थिक वर्ष ०८०/०८१ को निति,कार्यक्रम तथा बजेटमा नगरपालिकाले शिक्षा,स्वास्थ्य र कृषिलाई बढि प्राथमिकता दिइएको छ । यसैगरी भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अब्यवस्थित बसोवासी लालपुर्जा वितरणका लागि आवश्यक पर्ने बजेट विनियोजनका साथै सम्पुर्ण कानुनि प्रक्रिया पुरा गर्ने निति अवलम्बन गरि जग्गाधनी लालपुर्जा बितरण कार्यलाई तिब्रता दिइने जस्ता कार्यक्रम समावेश गरिएको छ । यसैगरी नीति तथा कार्यक्रममा पुराना र अधुरो योजनालाई प्राथमिकतामा राखी केही नयाँ कार्यक्रम लाई अगाडि सारेका छन।
निति तथा कार्यक्रममा एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्यलाई अगाडी बढाउन नगरपालिकामा ढल निकासको कार्यलाई आवश्यक सहकार्य र समन्वय गरिने, फोहोर प्रशोधन केन्द्र र फोहोर कम्पोष्ट केन्द्र सञ्चालनमा ल्याइने, लगाएत विपद व्यवस्थापन,सिचाई व्यवस्थापन,स्वच्छ खानेपानी तथा सरसफाई,सडक,पुल तथा यातायात,भूमी व्यवस्थापन,सूचना प्रविधि तथा सञ्चार अन्तर्गतका निति समेत कार्यक्रममा समावेश गरिएका छन ।

