बेलौरी
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाबाट एक १५ वर्षीय बालिकालाई बलात्कारको आरोपमा दुई जना युवा पक्राउ परेका छन् । बालिकाको उजुरीको आधारमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रविन्द्र पौडेलले पुष्टि गरे ।
‘जबरजस्ती करणीको उजुरीका आधारमा दुई जना पक्राउ परेका छन् । अहिले नै सबै विवरण पुगिसकेको छैन ।’ डिएसपी पौडेलले भने, ‘पीडितले दिएको जाहेरीको आधारमा नियन्त्रणमा लिएका छौँ, घटनाको अनुसन्धान भइरहेको छ ।’
एक प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा बेलौरी नगरपालिका–२ का २१ वर्षीय सन्दिप भण्डारी र बेलडाँडी गाउँपालिका–१ का २३ वर्षीय महेश चन्द रहेका छन् ।
उनिहरुलाई मंगलवार राती ईलाका प्रहरी कार्यालय बेलौरीले नियन्त्रणमा लिएको हो । उनिहरु विरुद्ध बेलौरी नगरपालिका–६ की एक १५ वर्षीय बालिकाले फागुन ३ गते जबरजस्ती करणीको जाहेरी दिएकी थिइन ।
विभिन्न प्रलोभन देखाएर चैत्र २ गते राती बेलडाँडी गाउँपालिका–१ का महेश चन्दले आफ्नो घरमा लगेर बलात्कार गरेको र अर्का आरोपी सन्दिप भण्डारीले तीन महिना अगाडि जबरजस्ती बलात्कार गरेको भन्दै केटीले ईलाका प्रहरी कार्यालय बेलौरीमा उजुरी दिएकी थिइन । पक्राउ परेका उनिहरुमाथि म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

