महेन्द्रनगर-नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको आयोजनामा महासंघको ७१औँ स्थापना दिवसको अवसरमा अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम गरी मनाईईकाे छ ।
साेमबार महेन्द्रनगर स्थित महासंघकाे कार्यालयमा “मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार : श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो सरोकार” भन्ने मूल नाराका साथ महासंघको ७१औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान–प्रदान तथा “सञ्चार माध्यमको अवस्था, चुनौती र सरोकारवालाको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।
कञ्चनपुर शाखा अध्यक्ष सुरेश सिंह धामीको सभापतित्व तथा अग्रज पत्रकार, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका पूर्व अध्यक्ष एवं प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य हरि प्रसाद जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरू, पदाधिकारी तथा सदस्यहरु , महासंघका साधारण सदस्यहरु , महासंघ कार्यसमिती पदाधिकारी तथा सदस्यहरु , पत्रकारका विभिन्न पेशागत संगठनका प्रमुख तथा प्रतिनिधि, पत्रकार र मिडिया सञ्चालकहरूको सहभागिता रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले वर्तमान अवस्थामा सञ्चार माध्यमहरू आर्थिक, व्यावसायिक तथा संरचनागत चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै यसको सुधारका लागि राज्य, सञ्चारगृह र पत्रकार स्वयं सबै पक्षको साझा पहल आवश्यक रहेकोमा जोड दिएका थिए।
उनीहरूले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको श्रम अधिकारको सुनिश्चितता र जिम्मेवार पत्रकारिताको अभ्यास आजको प्रमुख आवश्यकता भएको धारणा राखेका थिए।
कार्यक्रममा सहभागी सबैलाई महासंघ शाखाले आभार व्यक्त गर्दै स्थापना दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मी तथा सरोकारवालालाई शुभकामना व्यक्त गरेको छ।

