कञ्चनपुर — नेपाल राष्ट्रिय जनमुक्ति पार्टी कञ्चनपुरका जिल्ला अध्यक्ष फागुन दमाईसहित सम्पूर्ण जिल्ला समिति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको छ। कञ्चनपुरमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष दमाई, पदाधिकारी तथा सदस्यहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा विभागिय सचिव ज्ञानेन्द्र महताले औपचारिक रूपमा पार्टी प्रवेश गराउनुभएको हो।
कार्यक्रममा पार्टी प्रवेश गर्दै अध्यक्ष फागुन दमाईले हालसम्मको राजनीतिक यात्राबाट प्राप्त अनुभव र जनताको चाहनालाई आत्मसात् गर्दै नयाँ राजनीतिक संस्कारको आवश्यकता महसुस भएको बताउनुभयो। उहाँले देशमा व्याप्त भ्रष्टाचार, बेथिति र उत्तरदायित्वविहीन प्रवृत्तिको अन्त्यका लागि स्पष्ट नीति, पारदर्शी कार्यशैली र जनउत्तरदायी नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो। यी मूल्य र मान्यतासँग राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दृष्टिकोण मेल खाने भएकाले सम्पूर्ण समितिसहित रास्वपामा प्रवेश गर्ने निर्णय गरिएको उहाँको भनाइ थियो।
फागुन दमाईले अब कञ्चनपुरका जनताको आवाजलाई सशक्त रूपमा उठाउन, सुशासन, सामाजिक न्याय र समान अवसरका पक्षमा रास्वपाको झन्डामुनि रहेर सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ज्ञानेन्द्र महताले फागुन दमाईसहित सम्पूर्ण समितिलाई पार्टीमा स्वागत गर्दै यो प्रवेशले कञ्चनपुर जिल्लामा रास्वपाको संगठन थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले देशलाई नयाँ राजनीतिक दिशातर्फ लैजान इमानदार, जनमुखी र जिम्मेवार शक्तिहरू एक ठाउँमा आउनु आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पार्टीले जनताको समस्या समाधानलाई केन्द्रमा राखेर राजनीति गर्ने स्पष्ट पार्नुभयो।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले कञ्चनपुरमा वैकल्पिक राजनीतिक शक्तिको विस्तारसँगै सकारात्मक परिवर्तनको अपेक्षा व्यक्त गरेका छन्।


