राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि दीपकराज बोहराले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट मंगलबार औपचारिक रूपमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय भएको छ।
आगामी फागुन २१ काे प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिने यस कार्यक्रमलाई रास्वपाले राजनीतिक रूपले अर्थपूर्ण र सन्देशमूलक बनाउने तयारी गरेको जनाएको छ।
निर्धारित कार्यक्रमअनुसार उम्मेदवार बोहराको उम्मेदवारी दर्ता निर्वाचन आयोगको कार्यालय, झलारी, शुक्लाफाटा नगरपालिका वडा नं. १० मा गरिनेछ।
उम्मेदवारी दर्ता प्रक्रियामा सहभागी हुन पार्टीका केन्द्रीय तथा स्थानीय तहका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणलाई मंगलबार दिउँसो ठीक २:०० बजे झलारी खुला मञ्चमा उपस्थित हुन आह्वान गरिएको छ।
त्यहाँबाट सबैजना संगठित रूपमा निर्वाचन आयोगको कार्यालयतर्फ जाने कार्यक्रम रहेको जनाइएको छ।
रास्वपाले उम्मेदवारी दर्ता कार्यक्रमलाई शान्तिपूर्ण, अनुशासित र मर्यादित रूपमा सम्पन्न गर्ने लक्ष्य लिएको छ।

