केशव थापा/कञ्चनपुर– निजी विद्यालयको संगठन ‘राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) सुदूरपश्चिम प्रदेशको अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनबाट बीर बहादुर चन्द (बिबिसी) अध्यक्ष चयन भएका छन् । शनिबार कञ्चनपुरको महेन्द्रनगर हाेटल चेतनमा सम्पन्न एनप्याब्सन सुदूरपश्चिम प्रदेशको भेलाले चन्दलाई अध्यक्षमा चयन गरेको हो ।
निर्वाचन समितिका संयोजक तथा अधिवक्ता प्रकाश बहादुर पाण्डेयले सहमतीय आधारमा प्रदेश कार्य समिति चयन गरिएको जानकारी दिए ।
उनका अनुसार उपाध्यक्षमा रवि आचार्य र खेमराज भट्ट, सचिवमा युवराज बम, कोषाध्यक्षमा कमला थापा, सहसचिवमा खगेश्वरी बोगटी, सहकोषाध्यक्षमा पुष्करराज पन्त चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा बलदेव भट्ट, कलाधर चपागाईं, मनीकुमार चौधरी, नृप बहादुर ठकुल्ला, दुर्गा चन्द र खेमा ढकाल चयन भएका छन् ।
एनप्याब्सन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चयन भएका बीर बहादुर चन्द (बिबिसी) ले प्रदेशका एन-प्याब्सनकर्मीलाई एकताबद्ध गर्दै शैक्षिक सुधारका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उद्घाटन कार्यक्रममा एनप्याब्सनका केन्द्रीय अध्यक्ष सुबास न्यौपाने, वरिष्ठ उपाध्यक्ष श्याम सिंह मौनी, एनप्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्द लगायतले धारणा राख्दै शैक्षिक गुणस्तर सुधारमा एनप्याब्सनकर्मी सक्रिय हुनुपर्नेमा जोड दिएका थिए ।

