मदन गिरी/काठमाडौँ –काठमाडौँमा जारी नेकपा ९एमाले०को ११औँ राष्ट्रिय महाधिवेशनमा कञ्चनपुरका नेता नरबहादुर धामीले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। निवर्तमान केन्द्रीय सदस्यसमेत रहेका धामीले सोमबार दोस्रो कार्यकालका लागि सुदूरपश्चिम भुगोलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन्। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका धामी एमालेभित्र संघर्ष, आन्दोलन र संगठन निर्माणबाट उदाएका नेताका रूपमा चिनिन्छन्।

राजनीतिक आबद्धता
नेता धामीले २०४८ सालमा नेकपा ९एमाले०को विद्यार्थी संगठन अनेरास्ववियुको स्कुल कमिटीमार्फत राजनीतिक जीवनको सुरुवात गरेका हुन्। २०५४ सालमा अनेरास्ववियु कञ्चनपुर जिल्ला कमिटी सदस्य बनेका उनी २०५६ मा जिल्ला अध्यक्षमा निर्वाचित भए।
२०५७ सालमा कञ्चनपुरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसको स्ववियु सभापति निर्वाचित धामी सोही वर्ष अनेरास्ववियुको केन्द्रीय सह–अध्यक्षसमेत बनेका थिए।
२०७० सालमा एमाले केन्द्रीय कमिटी सदस्य तथा संघीय मामिला विभागको सदस्य बनेका धामी महाकाली अञ्चल कमिटी सदस्यको जिम्मेवारीमा समेत रहेका थिए। २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सुदूरपश्चिम कमिटी सदस्य बनेका उनी हाल एमालेको निवर्तमान केन्द्रीय कमिटि सदस्यका रूपमा क्रियाशील छन्।
संसदीय यात्रा
२०७४ सालको संघीय संसद् प्रतिनिधिसभा निर्वाचनमा धामी कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेस नेता एनपी साउदलाई पराजित गदैँ विजयी बनेका थिए ।
राजनीतिक आन्दोलन र संघर्ष
राजनीतिक आन्दोलनका क्रममा धामी २०५६ देखि २०६३ सालसम्म दर्जनौँ पटक गिरफ्तार भएका थिए । २०६१ साल माघ १९ पछिको राजनीतिक परिस्थितिमा ‘देशद्रोह’ अभियोगमा तीन महिना जेल जीवन बिताएका उनी २०६२ वैशाख १६ गते तत्कालीन शाही सेनाले कञ्चनपुरको जनज्योति क्याम्पसमा अनेरास्ववियुको कार्यक्रम चलिरहेका बेला चलाएको गोलीबाट घाइते भएका थिए। घाइते धामीले छाउनी अस्पतालमा तीन महिना उपचार गराएका थिए। तेस्रो कार्यकालका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका धामीले पार्टी आन्दोलन, संगठन र संसदीय अनुभवका आधारमा पार्टीलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


