कञ्चनपुर : महिला पतञ्जलि योग समिति कञ्चनपुरको समन्वयमा भीनपा–१८ विष्णु योग साधना केन्द्रमा सह–योग प्रशिक्षक प्रशिक्षण शिविरको समापनको अवसर पारेर भजन किर्तन, नृत्य गर्नुको साथै खीर, दही र जलेवीको प्रसाद वितरण गरिएको थियो ।
श्रावण महिनालाई हिन्दु धर्मावलीहरुले प्रवित्र महिनाको रुपमा लिने र यो महिनामा खीर खाने पनि चलन रहेको छ । श्रावण १ गते देखि १७ गते सम्म सह–योग प्रशिक्षक प्रशिक्षण शिविर भएकोले समापन पश्चात आज खीरको साथै दहि, जलेवीको व्यवस्था गरिएको हो । विष्णु योग साधना केन्द्रले खीरको व्यवस्था गरेको थियो भने दही जलेवीको कञ्चन सेकुवा सेन्टरका सञ्चालक सन्तोष खरेलले गरेका थिए । उक्त कार्यक्रम महिला पंतजलि योग समिति कञ्चनपुरकी निर्वतमान अध्यक्ष विजया लक्ष्मी अवस्थी, वर्तमान अध्यक्ष कमला पाण्डेय, उपाध्यक्ष भावना के.सी लगायतको पहलमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
श्रावण १९ गते सोमबार आयुर्वेद केन्द्र पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णको जन्मदिनको अवसर पारेर महाकाली नदीबाट जल ल्याई भम्केनी धाममा अर्पण गर्नुका साथै वृक्ष रोपण कार्यक्रम रहेको छ । त्यसैगरी श्रावण २२ गते तिजको अवसरमा उद्योग वाणिज्य संघको हलमा दर खाने कार्यक्रम सहित सांगीतिक तथा नृत्य कार्यक्रम रहेको निर्वतमान अध्यक्ष विजया लक्ष्मी अवस्थीले बताउनु भयो ।
‘महिला पतञ्जलि योग समितिले स्वास्थ्यको साथै विभिन्न मनोरञ्जनात्मक तथा सामाजिक गतिविधिहरुको आयोजना गर्दै आएको छ । ‘यसले महिलाहरुलाई घरायसी कामकाजबाट केही समय बाहिर निस्कने, समाजमा घुलमिल हुने र मानसिक राहत प्राप्त गर्ने अवसर प्रदान गर्ने’ अध्यक्ष कमला पाण्डेयले बताउनु भयो ।

