महेन्द्रनगर-कञ्चनपुरको वेदकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम मार्फत बजेट ल्याएकाे छ । मंगलबार सम्पन्न १७ औँ नगर सभाबाट पालिकाले आगामी आ.व.का लागि ९८ करोड ६५ लाख २१ हजार ९ सय ५६ रुपैयाँ बराबरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हाे।
नगर प्रमुख भोजराज बोहरा र उपप्रमुख तुलसी जोशीले संयुक्त रूपमा बजेट प्रस्तुत गर्नुभयो। नयाँ बजेटसँगै नगरपालिकाले विभिन्न महत्त्वाकांक्षी योजनाहरू अघि सारेको छ। यसमध्ये विद्यावारिधि (पीएचडी) गर्ने स्थानीय बासिन्दालाई १ लाख रुपैयाँ नगद प्रोत्साहन दिने महत्त्वपूर्ण घोषणा गरिएको छ।
चालु खर्चतर्फ ७४ करोड २६ लाख २१ हजार ९ सय ५६ रुपैयाँ र पुँजीगत खर्चतर्फ २४ करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ।
नगरपालिकाको आयका मुख्य स्रोतहरूमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबापत १४ करोड ४६ लाख, राजस्व बाँडफाँडबाट १३ करोड ५ लाख १९ हजार ७७, सशर्त अनुदान चालु तर्फ २६ करोड ३ लाख र पुँजीगत तर्फ १ करोड ४७ लाख रुपैयाँ छन्। यसका साथै, संघीय विशेष अनुदानतर्फ ६९ लाख, संघीय समपूरक अनुदान १ करोड ७३ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ३८ लाख २५ हजार, प्रदेश विशेष र समपूरक अनुदान १ करोड २२ लाख, सवारी साधन कर बाँडफाँड ६१ लाख २६ हजार र घरजग्गा रजिष्ट्रेसन दस्तुरबाट १ करोड रुपैयाँ आम्दानीको अनुमान गरिएको छ।
वेदकोट नगरपालिकाले विगतका गौरवका योजनाहरूलाई निरन्तरता दिँदै नयाँ कार्यक्रमहरू पनि समावेश गरेको छ।

