महेन्द्रनगर -बेलाैरीमा ७ दिने विपद् स्वयंसेवक परिचालन सम्बन्धी आधारभूत तालिम सुरु भएको छ ।
“विपद् आउँछ भनेर खबर गर्दैन, तर हामी चाहिँ सधैं खबरदारीका साथ तयार रहनुपर्छ” भन्ने सन्देशका साथ मंगलबारदेखि बेलाैरी नगरपालिकाकाे सभाहलमा ७ दिने विपद् स्वयंसेवक परिचालन सम्बन्धी आधारभूत तालिम सुरु भएको हाे ।

कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले भन्नुभयो, “स्थानीय सरकारले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। बाढी, डुबान, आगलागी, चट्याङ, र भू–क्षय जस्ता जोखिमहरू हाम्रो क्षेत्रको यथार्थ हो। यस्तो अवस्थामा सचेत, प्रशिक्षित र सकृय स्वयंसेवक टोलीको उपस्थिति नै नगरको बलियो सुरक्षा कवच हो।” उहाँले नगरपालिकाले प्रत्येक वडामा विपद् प्रतिक्रिया संयन्त्र निर्माण गर्न थालेको प्रयास यो तालिममार्फत थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

बेलाैरी नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीको सभाध्यक्षता रहेको कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण शैलेश्वरी, कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्ट, बिओपी बेलाैरीका डिएसपी मोहन केसी, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भाष्कर चन्द लगायत नगरका १० वटै वडाबाट प्रतिनिधित्व गर्ने स्वयंसेवकहरूको उल्लेख्य सहभागिता रहेको थियो।


