संसद्को गतिरोध चाडै अन्त्य हुन्छः प्रधानमन्त्री प्रचण्ड

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको अवरोध अन्त्यका लागि राजनीतिक तहमा संवाद जारी रहेको र चाँडै समाधान हुने बताएका छन् ।

विराटनगरमा आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै समाधान हुने र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको बताए ।

विज्ञापन

प्रधानमन्त्री दाहालले सहकारीसँग सम्बन्धित समग्र विषयको अलगै र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने विषय अलगै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने विश्वास व्यक्त गरे ।

‘अहिले लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन’, उनले भने, ‘मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो ‘केस’ भनेर सोधेको थिएँ । उहाँहरूले यस ‘केस’ मा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, सोही आधारमा मैले बोलेको हुँ ।’

प्रधानमन्त्रीले प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएको दाबी गरे ।

कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेर अहिलेको सत्ता समीकरण रोक्ने कोसिस गरेको तर सफल नभएपछि सहकारीको विषय उठाएको आरोप प्रचण्डले लगाए । उनले पछिल्लो राजनीतिक समीकरण भत्काउन गरिएको प्रयास सफल नहुने स्पष्ट पारे ।

विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *