कञ्चनपुर -अन्तर्राष्ट्रिय सीमा सरोकार समुहले सशस्त्र प्रहरी बलसंग सीमा विवादको टुङगो नलाग्दा सम्म अनावश्यक नापजाँचका कार्य रोक्न आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय सीमा सरोकार समुहका संयोजक पल्लवराज भट्टले सशस्त्र प्रहरी सहित सरोकारवालासग अनावश्यक नापजाँचका कार्य रोक्न आग्रह गरेका छन ।
बिहीबार बिओपी भुडाका इन्चार्ज रमेश शाहुसंग भेटघाट गर्दै अन्तर्राष्ट्रिय सीमा सरोकार समुहका संयोजक भट्टले बेलौरी र बेलडाँडीका सीमा क्षेत्रमा कहिले भारतीय सीमा सुरक्षा बल, कहिले सशस्त्र प्रहरीसंग एकल तथा संयुक्त रुपमा नापजाँचका कार्य गर्न नगराउन आग्रह गरेका हुन् ।
विवादित स्ट्रीप नक्सा कार्यान्वयन नगर्न र सच्याएर मात्रै गर्न गराउन आग्रह गरेका छन । बेलाबेलामा सीमावर्ती क्षेत्रमा आएर नेपाली नागरिकका दर्तावाला जमिनमा गैर कानुनी अनाधिकृत रुपमा नापजाँच गर्ने कार्यबाट नागरिकमा संन्त्रास फैलिएकाले यस्ता कार्य रोक्न आग्रह गरेका छन ।
संयोजक भट्टले दुवै देशका सरोकारवाला निकायविचको समन्वयमा मात्रै अघि बढ्न सुझाव दिएका छन । छलफलमा बेलौरी नगरपालिका उपप्रमुख जोगराज चौधरी सहितको सहभागिता रहेको थियो ।
भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले हराएको पिलर खोजी गर्ने बहानाबाजी गराएर पुन: नेपाली भूमि कब्जा गर्ने षड्यन्त्र रचिरहेको भन्दै स्थानीय सशङकीत भएका छन ।

