महेन्द्रनगर -कञ्चनपुरमा अवैध रुपमा मेडिकल सञ्चालन गरिरहेका एक जना पक्राउ परेका छन्। शुक्लाफाटा र कृष्णपुर नगरपालिका अन्तर्गतका झलारी, वाणी, वंक र कलुवापुरमा रहेका मेडिकलहरू अनाधिकृतरुपमा सञ्चालन भएका भन्दै प्रहरी कार्यालयमा जनगुनासो आए पश्चात शुक्रवार ईलाका प्रहरी कार्यालय झलारीले उक्त क्षेत्रमा रहेका नौ वटा मेडिकलहरु चेकजाँच गरेको थियो।
चेकजाँचको क्रममा औषधी व्यवस्था विभागको ईजाजत पत्रविना सञ्चालनमा रहेको कृष्णपुर नगरपालिका–२ बंकमा रहेको कञ्चन क्लिनिक एण्ड फार्मेसीका सञ्चालक सोहि पालिकाको–१ नम्बरका देवसिंह धामी पक्राउ परेका हुन्।
जोखिमयुक्त औषधीहरू ६ थान बोरासहित धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ । धामी भीमदत्त नगरपालिका–१२ पक्कीपुल बाट पक्राउ परेका हुन्। घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
यस अघि पनि कञ्चनपुर प्रहरीले दाेधारा चाँदनीमा २०/२५ बर्ष भन्दा अघि देखि अबैध रूपमा मेडिकल सञ्चालन गर्दै आएका भारतियकाे गिराेहलाई पक्राउ गरेर मुद्वा चलाएर जालाेनै भत्काएकाे थियाे । त्यस पछि भिमदत्तका विभिन्न स्थानमा गैरकानुनी ढंगले सञ्चालित मेडिकल सञ्चालक सहित औषधि समेत बरामद गरेर मुद्वानै चलाएकाे थियाे ।
कञ्चनपुर प्रहरीकाे नेतृत्व सम्हालेका प्रहरी उपरीक्षक कमल थापाले स्वास्थ्य जस्ताे संवेदनशिल विषयमा गैर कानुनी ढंगले मेडिकल सञ्चालन गरी नागरिककाे स्वास्थ्यमा खेलवाड गर्न नदिन र यस्त गैर कानुनी कार्य निस्तेज पार्न जिल्लाभरीनै कडाईका साथ काम गर्दै आए संगै उनकाे सकारात्मक चर्चा समेत हुन थालेकाे छ ।

