शुक्लाफाँटाको बतासे झरना जोड्न पदमार्ग निर्माण गरिदै

Uncategorized

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले बतासे झरना जोड्न पदमार्ग निर्माण गरिरहेको छ । नगरपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको सहकार्यमा वडा नं. ८ स्थित धारापानी बस्तीदेखि बतासे झरनासम्म पदमार्ग निर्माण भइरहेको हो ।

३० लाखको लागनीमा निर्माण भइरहेको पदमार्ग ३ किलोमिटर बन्नेछ। पर्यटन प्रवद्र्धनका लागि बतासे झरना जोड्न पदमार्ग निर्माण भइरहेको नगर प्रमुख रणबहादुर महराले बताए । ‘धारापानी र बतासे झरनालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिरहेका छौं,’ उनले भने, ‘नगरपालिकाले प्रदेश सरकार, केन्द्र सरकार र विभिन्न संघसंस्थासँग सहकार्य गरेर नगरभित्रका पर्यटकीय क्षेत्रमा आवश्यक संरचना निर्माण गरिरहेका छौं ।’

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर यहाँको आर्थिक स्रोत बढाउन सकिने भएकाले संरचना निर्माणमा जोड दिइएको नगर प्रमुख महराले बताए । ‘शुक्लाफाँटामा मणिकाधाम मन्दिर, ताल, धारापानी, बतासे झरनालगायतका थुप्रै पर्यटकीय स्थलहरु छन्,’ उनले भने, ‘यहाँ पर्यापर्यटनको धेरै सम्भावना छ, यसैबाट आर्थिक आर्यस्रोत जुटाउन सकिन्छ ।’

धारापानी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक पिकनिक मनाउन आउँछन् । यस क्षेत्रको विकास भएसँगै धारापानी गाउँका स्थानीयको आर्थिक अवस्थामा पनि सुधार आएको छ। स्थानीय बासिन्दाले उत्पादन गरेका कृषि उपज, कुखुरा र खाद्य पदार्थ गाउँमै बिक्रि हुन्छन् । धारापानीमा पिकनिक ‘स्पट’सँगै बिश्राम गर्न चौतारा निर्माण गरिएका छन्। बातासे झरनाको अवलोकन गर्न आउने पर्यटकको सहजताका लागि भौतिक संरचना निर्माणमा प्राथमिकता दिइएको वडा अध्यक्ष बहादुरसिंह महराले बताए।

‘यस क्षेत्रमा प्रत्येक वर्षमा भौतिक संरचना निर्माण गर्दै आएका छौं,’ उनले भने, ‘गत वर्ष प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत धारापानी गाउँसम्म मार्ग, पिकनिक ‘स्पट’लगायतका संरचना निर्माण गरेका थियौं,’ उनले भने, ‘यस वर्ष बतासे झरनासम्म पदमार्ग निर्माण गरिरहेका छौं।’ गर्मी मौसममा यहाँ हजारौं आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *