जाजरकाेट केन्द्रबिन्दु भई गएको भूकम्पमा परी ७० जनाको मृत्यु

Uncategorized

जाजरकोट केन्द्रबिन्दु भइ मध्यरातमा गएको भूकम्पमा परी ७० जनाको मृत्यु भएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीमप्रसाद ढकालका अनुसार आज बिहान ७ बजेसम्मको विवरण अनुसार दुई जिल्लामा गरी ७० जनाको  मृत्यु भएको हो।

‘रूकुम पश्चिममा ३० जना र जाजरकोटमा ४० जनाकोम मृत्यु भएको भन्ने बिहान ५ बजेसम्मको रिपोर्ट छ,’ डिआइजी ढकालले भने।

दुबै जिल्लामा गरी ९७ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिएका छन्। राहतको काम जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने डीआइजी ढकालले जानकारी दिए।

भूकम्प लगत्तै प्रदेश प्रहरी कार्यालयबाट ३६ जनाको उद्धार टोली राति नै परिचालन गरिएको डिआइजी ढकालले जानकारी दिए। त्यस्तै २० जना चौरजहारीबाट र २० जना अन्य सिमानाका प्रहरी कार्यालयहरूबाट राति नै उद्धार टोली पठाइएको उनले बताए।

भूकम्पका कारण केही  क्षेत्रहरू केही गाउँपालिकामा टेलिफोन सेवा पनि अवरूद्ध भएका छन्। रूकुम पश्चिम र जाजरकोटको सिमाना पर्ने रिम्ना भन्ने ठाउँमा पहिरोका कारण सडक अवरूद्ध भएको पनि डिआइजी ढकालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *