धनगढी -हवाई भाडामा एयरलाइन्स कम्पनीहरुको मनपरी बढेको छ। चाडपर्व सुरु भएसँगै हवाई भाडामा ६ हजारले वृद्धि गरिएको छ।
काठमाण्डौँबाट धनगढी आइपूग्ने यात्रुबाट १७ हजारका दरले निजी कम्पनीका एयरलाइन्सहरुले रकम असुल्न थालेका हुन्। साथै चाडपर्वमा यात्रुले महङ्गो भाडा तिरेर भए पनि हवाई टिकट पाउन भने सास्ती भइरहेको छ। यही मौकामा एयरलाइन्स कम्पनीहरुले आफुअनुकुल भाडा असुल्न थालेका हुन्।
गत वर्षको दसैंमा १७ हजार ६ सय हवाई भाडा तिरेर काठमाडौँदेखि धनगढी हुँदै बझाङ पुगेका बसन्तराज जोशीलाई यो वर्ष महङ्गोमै भए पनि टिकट पाउन सकस भएको हो। दुर्गम रुटमा चल्ने थोरै सङ्ख्याका जहाजको कम उडान हुने भएपछि ठूला विमानस्थलबाट दुर्गम भेगमा पुग्ने यात्रुले थप सास्ती खेप्नु परेको छ।
यात्रुहरू महंगाे भाडाकाे मारमा पर्दा समेत राज्य भने बेखबर छ । अत्याधिक भाडा दरले गर्दा यात्रुहरूले सरकारकाे आलाेचना व्यक्त गरिरहेका छन् ।
बुद्ध एयरका अनुसार दसैंको घटस्थापनासम्मका लागि काठमाडौँदेखि धनगढीसम्म दसैंका लागि अधिकतम भाडादर १७ हजार एक सय ८६ रुपैयाँ रहेको छ। उक्त गन्तव्यमा अहिले सहुलियत भाडादर ११ हजार रुपैयाँ छ। सहुलियत भाडादरको टिकट सकिएपछि अधिकतम भाडादर तिर्नु पर्दा मंहगो पर्न गएको एयरलाइन्स कम्पनीहरुको दाबी छ।
हवाई इन्धनकाे मुल्य एक नासकाे भएपनि एयरलाइन्सहरूले मनपरी रुपमा भाडा असुल्दै आएका हुन्। बुद्ध एयरको काठमाण्डौँ–धनगढी सहुलियत भाडादर ११ हजारदेखि १७ हजार दुई सयसम्म निर्धारण गरिएको कम्पनीले जनाएको छ। चाडपर्वको समयमा आन्तरिक उडानको भाडा दर एक्कासी बढाइएको हो।
ईन्धनकाे मुल्य पुरानै भएपनि भाडा दरमा भने तेब्बरले बृद्वि गरेकाे पाईएकाे छ । काठमाडौ देखि भारतकाे राजधानी नयाँ दिल्ली पुग्न १४ हजार मात्र भाडादर रहेकाे छ । यसरी एयरलाइन्सहरूले मनपरी भाडा लगाउदा सर्वसाधाण सबै यात्रु मारमा परेका छन् ।

