कञ्चनपुर– कञ्चनपुरका एक युवाले १ लाखमै इलेक्ट्रिकल मोटरसाइकल बनाएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका –७ का दिनेश बिष्टले घरमै एक लाखमा इलेक्ट्रिकल मोटरसाइकल निर्माण गरेका हुन्।
दिनेशले करिब एक लाख रकम खर्च गरेर आफ्नै घरमा इलेक्ट्रिकल मोटरसाइकल निर्माण गरेका हुन्।
मोटरसाइकलको शुक्रबार एक कार्यक्रमका बीच कृष्णपुरका नगरप्रमुख हेमराज ओझाले लन्चिङ गरेका छन्। मोटरसाइकलको लन्चिङ गर्दै मेयर ओझाले मोटरसाइकल निर्माण गरेर दिनेशले कृष्णपुरको गौरव उचो गर्ने काम गरेको बताए। उनले दिनेशले गरेको कामलाई नगरपालकाले पनि सहयोग गर्ने बताए।
मोटरसाइकल निर्माण गरेका दिनेशले मोटरसाइकको सामान अनलाइन मार्फत मगाएको र, च्यासिस भने घरमै निर्माण गरेको बताए।
उनले मोटरसाइकलमा पुरानो मोटरसाइकलको ट्याङ्की र पुराना स्कुटरका टायर प्रयोग गरेका छन्। उक्त मोटरसाइकल निर्माणका लागि २ हप्ताको समय लागेको उनले बताए।उनले मोटरसाइकलको नाम सुदूरपश्चिम ७ राखेका छन्।
४८ भोल्टेजको ब्याट्री प्रयोग गरिएको उक्त मोटरसाइकल एक पटक चार्ज गरेमा ७५ देखि ८० किलोमिटर गुड्ने बताइएको छ।
मोटरसाइकल फुल चार्ज गर्न साढे ३ देखि ४ घण्टा लाग्ने दिनेशले बताए। दिनेश कैलालीको गेटामा रहेको सरस्वती माविमा कक्षा १० अध्ययन गरिरहेका छन्। यस अघि पनि उनले माेटरसाईकलकाे ईन्जिन राखेर ३ पाग्रे बग्गि बनाएका थिए ।

