कञ्चनपुर- कञ्चनपुरका कान्तिपुर टेलिभिजन’ मा कार्यरत पत्रकार तेज बहादुर सिंह मुस्कानले अन्यायपूर्ण ढंगले जागिरबाट हटाउन खाजेको भन्दै न्यायका लागि आग्रह गरेका छन्।
विगत दुई दशकदेखि कञ्चनपुरलाई कार्यथलो बनाएर ‘कान्तिपुर टेलिभिजन’ मा कार्यरत पत्रकार तेज बहादुर सिंह मुस्कानले सम्बद्ध संस्थाले अन्यायपूर्ण ढंगले जागिरबाट हटाउन खाजेको भन्दै न्यायका लागि आग्रह गरेका हुन्।
नेपाल पत्रकार महासंघलगायत सञ्चार सम्बद्ध सबै संघ–संस्थाहरुलाई शुक्रबार जानकारी पत्र पठाउदै सिंहले न्यायका लागि पहल गरिदिन आग्रह गरेका हुन। पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधव सिंह धामीलाई सम्बोधन गरी लेखिएको जानकारी पत्रको बोधार्थ महासंघ केन्द्रीय समिति, प्रेस काउन्सिल नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समिति, नेपाल प्रेस यूनियन, प्रेस चौतारी, प्रेस सेन्टर र श्रमजीवी पत्रकार संघलगायतलाई पनि दिइएको छ।
आवश्यक जानकारी र ऐक्यवद्धताका लागि भन्दै पत्रकार सिंहले दिएको पत्रमा आफू २०५९ सालदेखि ‘कान्तिपुर टेलिभिजन’ मा कार्यरत रहेको र अहिले अन्यायपूर्ण ढंगले कामबाट बिमुख बनाउन खोजिएको जानकारी दिइएको छ। ‘बिभिन्न कठिन परिस्थिति र कालखण्डमा आफ्नो जीवननै दाउमा राखेर संस्थाको हित र पत्रकारिताको मूल मर्म तथा इमान्दारिताका साथ काम गर्दा गर्दै पनि मिति २०७९ असोज ३० गतेदेखि श्रमजीवी पत्रकारिता ऐन विपरीत उक्त संस्थाले अन्यायपूर्ण र अपमानित ढंगले जागिर छुटाउने प्रपञ्च रच्दै दुःख दिने नियतले अपायकमा सरुवा गरी स्पष्टीकरण सोध्ने कार्य गरिरहेको जानकारी गराउँछु,’ पत्रमा भनिएको छ।
उक्त संस्थाले विगत १० महिनादेखिको सेवा, सुविधा तथा कार्यालयको भाडा नदिदा दैनिक हातमुख जोर्न समेत कठिन भएको पत्रकार सिंहले बताए। पत्रकार महासंघलगायत संघ–संस्थाको ऐक्यवद्धता र समर्थन खोज्दै आवश्यक पहलका लागि अनुरोध गरिएको सिंहले जानकारी दिएका छन्। यसअघि पनि पत्रकार सिंहले महासंघको केन्द्रलाई यसबारे पटक–पटक जानकारी गराएका थिए। तर, महासंघले कुनै पनि पहल नगरी अनिर्णयको बन्दी बनाउन खोजेको उनले बताए।
‘कान्तिपुर प्रशासनले मेरो चुलोमा लात हानेको छ,’ उनले भने, ‘मैले न्याय पाउनुप(यो, श्रमजीवीको मुद्दामा महासंघले गम्भीर ढंगले काम गर्नुप(यो। साहूको भन्दा पनि पत्रकारको पक्षमा महासंघ बोलोस्।’

