तर गत दशकमा यस क्षेत्रका जनता, जनप्रतिनिधि एवं कञ्चनपुर जिल्लाका सरोकारवाला सरकारी कार्यालय समेतलाई नजरअन्दाज गरी बेजिल्लाको कैलाली भन्सार कार्यालय मातहतमा बेलौरी छोटी भन्सारलाई राखिनु अव्यवहारिक मात्रै नभएर यस क्षेत्रको भाग्य र भविष्य प्रति खेलबाड गरिएको प्रमाणित हुँदै आएको छ ।
नेपाल तर्फको नमुना वा नयाँ सहर निर्माणमा सूचीकृत “बेलौरी बजार” र भारत तर्फको खजुरीया बजार सीमा क्षेत्रका व्यस्त व्यापारिक केन्द्र हुन् । यी दुवै बजार क्षेत्रलाई नेपालतर्फको सुदूरपश्चिम प्रदेश सरकार पूर्वाधार गौरव योजनाको बेलौरी कलुवापुर सडकखण्ड र भारततर्फको खजुरीया पुरनपुर सवहाइवेले सीमा विन्दुमा मिलान गरेका छन् ।
ऐतिहासिक भौगोलिक वाणिज्य व्यापारिक एवं पर्यटकीय अनुकूलताको आधारमा र बेलौरी भन्सारबाट प्रत्यक्ष लाभान्वित हुने कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जदेखि पूर्वी र दक्षिणी भेग अर्थात् शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका समेतका लाखौँ जनताको माग र हकहितलाई ध्यानमा राखी राज्यका विशिष्ट व्यक्तित्वहरूले पनि बेलाबेलामा सार्वजनिक समारोहमा नै जनताको अगाडि बेलौरी छोटी भन्सारको स्तरोन्नति गर्ने गराउने भनी निरन्तर गर्दै आएको प्रतिबद्धता जग जाहेरै छ ।
विशिष्ट व्यक्तिहरूमध्ये सम्माननीय प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति माननीय शेर बहादुर देउवा तथा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष माननीय खड्ग प्रसाद ओलीको आश्वासन कार्यान्वयन नहुनु सम्बन्धित सबैका लागि गम्भीर चिन्ता र चासोको विषय बनेको छ ।
सम्माननीय प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७० मङ्सिरको चुनावी सभामा बेलौरी छोटी भन्सारको स्तरोन्नति गरिने छ, भनी उद्घोष गरेको आश्वासन कार्यान्वयन नहुँदा झण्डै दश वर्षपछि २०७९ बैशाखको चौथो हप्ता अर्को चुनावी सभामा यो निर्वाचनको लगत्तै बेलौरी छोटी भन्सार स्तरोन्नतिको पहल सरकारबाट नै गरिनेछ भन्ने आश्वासनको १ वर्षपछि २०८० जेठ १३ मा माननीय सांसद तारा लामा तामाङको प्रश्नको जवाफ दिँदै प्रतिनिधि सभा बैठकमा “बेलौरी छोटी भन्सारको स्तरोन्नति विषयमा म आफै सार्वजनिक समारोहमा पनि बोलिसकेको छु ।
भन्सार स्तरोन्नति सम्बन्धमा विश्वस्त गराउन चाहन्छु” भनी पटक पटक दोहो¥याएको प्रतिबद्धता कार्यान्वयनमा नेपाल सरकार अर्थ मन्त्रालयले तदारुकताका साथ चाल्नुपर्ने कदमको आन्दोलन कै चरणबाट सरोकारवाला प्रतीक्षामा छन् ।
२०७० देखि प्रमुख दलका शीर्ष नेतृत्वबाट निरन्तरको आश्वासन र प्रतिबद्धता कार्यान्वयन हुन नसकेको अवस्थामा यहाँ चारै तिर निराशा छायो र आक्रोश पैदा भयो । बेलौरी आन्दोलित भयो । नेता त्रयको कोरा आश्वासनको साङ्केतिक विरोध गर्दै २०८० बैशाख ८ गते बजारमा नारा जुलुस प्रदर्शन गर्दै सङ्कटग्रस्त गराइएको भन्सार प्राङ्गणमा विरोध सभा सम्पन्न भयो । भ्रमणमा आएका मन्त्री एवं नेताहरूलाई ज्ञापन दिँदै सङ्कटग्रस्त भन्सारको स्थलगत अवलोकन गराउँदै आन्दोलन अघि बढ्दै गयो ।
१. भन्सारमा लगाइएको ताला तत्काल खोली कार्यालय सुचारु गरियोस् ।
२. नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभाग, कैलाली भन्सार कार्यालय बेलौरी छोटी भन्सार भन्ने साइनबोर्ड र अभिलेखबाट कैलाली भन्सार कार्यालय हटाइयोस् ।
३. बेलौरी छोटी भन्सारको अस्तित्व नै मेटिने गरी कैलाली भन्सारले गरेका चरम लापरबाही, बेवास्ता, बेथिति, विसङ्गति एवं अख्तियारी दुरुपयोगका कामको छानबिन गरी कारबाही अगाडि बढाइयोस् ।४. बेलौरी छोटी भन्सारको स्तरोन्नतिका लागि आवश्यक कार्य गरियोस् ।
धन्यवाद
लेखक- केशवराज जोशी
(पूर्व प्रचार्य) महाकाली मावि बेलौरी कञ्चनपुर ।

