सरकारले सबै नीति र कानुनमा प्रेस स्वतन्त्रता सुनिश्चित गर्छ : सञ्चारमन्त्री शर्मा

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौँ –  सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सरकारले सबै नीति र कानुन तर्जुमा गर्दा प्रेस स्वतन्त्रताको सुनिश्चितता कायम गर्न प्रतिबद्ध रहेको बताएकी छन् । उनले आमसन्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार, जवाफदेही, उत्तरदायी र विश्वसनीय बनाउन आवश्यक नीतिगत तथा कानूनी सुधारका लागि पहल गरिरहेको बताइन् ।

बिहीबार राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि उठेका सवालहरुको जवाफमा मन्त्री शर्माले भनिन्, ‘सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासले आर्थिक, सामाजिक, शैक्षिक लगायत विभिन्न क्षेत्रमा प्रभाव पारेको छ । विश्वमा विकसित नवीनतम प्रविधिको प्रयोग गर्दै समृद्धिको लक्ष्य प्राप्ति गर्नुपर्ने अवस्था छ । आगामी आर्थिक वर्षमा मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रमहरू गुणस्तरको सुनिश्चिततासहित समयमै सम्पन्न गरी लक्षित उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

मन्त्री शर्माले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षाको जोखिम बढेको भन्दै डिजिटल साक्षरता प्रवद्धन गर्ने र सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्ने कार्यमा सरकार निरन्तर प्रयासरत रहेको बताइन् ।

उनले साइबर सुरक्षासँग सम्बन्धित विषयहरू एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषद्‌मा लैजाने तयारी अन्तिम चरणमा पुगेको बताइन् । त्यस्तै, मुलुकका सबै वडामा गुणस्तरीय इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ छ ।

#ekantipur.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *