लम्पी स्किन रोगको उपचारमा ध्यान दिन सबै पालिकालाई पशु सेवा विभागको आग्रह

मुख्य खवर राजनीति विशेष समाचार

विभागका महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेले विज्ञप्ति निकालेर लम्पी स्किन रोग फैलिने गएकोले उपचारमा ध्यान दिन पालिकासँग आग्रह गर्नुभएको हो । विभागले महामारी नियन्त्रण गर्नका लागि रोग फैलिएका पालिकाहरुमा एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

विभागले महामारी रोकथाम र नियन्त्रण गर्न प्रदेश र पालिका तहमा सम्पर्क व्यक्ति तोकेको काफ्लेले जानकारी दिनुभयो । विभागले लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापनासहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोली परिचालन गरेको छ । गएको चैतदेखि फैलिएको लम्पी स्किन सङ्क्रमणबाट २५ हजारभन्दा धेरै पशु मरेका विभागले जनाएको छ ।

देशभर सङ्क्रमित झण्डै सात लाख नौ हजार पशुमध्ये चार लाख ५३ हजार पशु निको भइसकेका छन् । अहिले पनि दुई लाख २९ हजार पशु सक्रिय सङ्क्रमित रहेका विभागले जनाएको छ । कोशी प्रदेशबाट फैलिएको रोग मनाङबाहेक सबै जिल्लामा फैलिसकेको छ । सङ्क्रमणको दर क्रमशः घट्दै गएको विभागले जनाएको छ ।

विभागकाअनुसार सङ्क्रमणबाट प्रभावित एक लाख ८० हजारभन्दा धेरै पशुलाई खोप लगाइएको छ । सङ्क्रमण नियन्त्रणका लागि विभागले अहिलेसम्म सात लाख ३७ मात्रा खोप आयात गरेको छ ।

लम्पी स्किन गाईभैँसीमा भाइरसको कारणले लाग्ने महामारी रोग हो । यो रोग लागेमा पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोला गिर्खा तथा गाँठाहरु देखिने, र्याल सिँगान वग्ने, चिप्रा/कचेरा लाग्ने, खुट्टा/जोर्नी सुन्निनेजस्ता लक्षण देखा पर्दछन् ।

यस रोग बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दूधालु र गर्भिणी गाईभैँसीलाई असर गर्ने गर्दछ । गोरुलाई समेत सङ्क्रमण हुँदा अहिले पहाडी क्षेत्रका धेरै ठाउँमा रोपाइँको कामलाई प्रत्यक्ष असर गरेको छ ।

– उज्यालाे अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *